बुटवल । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित १० किलोमा चेकजाँचका क्रममा दुई चिनियाँ नागरिकको साथबाट ६६ हजार ९५० युआन बरामद भएको छ । बरामद रकम नेपाली रुपैयाँअनुसार १६ लाख ६ हजार ८०० बराबर रहेको प्रहरीले जनाएको छ ।
मंसिर १० गते दिउँसो करिब ३ः४५ बजे इलाका प्रहरी कार्यालय कोदारी र अस्थायी प्रहरी पोष्ट १० किलोबाट खटिएको संयुक्त प्रहरी टोलीले कोदारीबाट काठमाडौं जाँदै गरेको बीएसी ५२९३ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो ।
प्रहरीका अनुसार गाडीको बीचको सिटमा सवार ५१ वर्षीय चिनियाँ नागरिक सिरेनु ओजीले बोकेको कालो रङको झोलाभित्र लुकाएर राखिएको अवस्थामा रकम बरामद गरिएको थियो ।
बरामद रकममा १०० युआन दरका ६६७ थान र ५० युआन दरका ५ थान नोट रहेका छन् । उक्त रकमको नेपाली मूल्य १६ लाख ६ हजार ८०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आशंकामा ५१ वर्षीय सिरेनु ओजी र ४३ वर्षीय अर्का चिनियाँ नागरिक वुजियान्दुओजीलाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय कोदारीमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















