बुटवल, ११ मंसिर ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनको ११०४औँ नियमित बैठक तथा तेस्रो क्लब एसेम्बली सम्पन्न भएको छ । शुक्रबार क्लब सचिवालय, हिलपार्कमा आयोजित एसेम्बलीमा क्लबका पाँचवटै स्थायी समितिले आफ्नो कार्यप्रगति तथा आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गरेका छन् ।
एसेम्बलीको शुभारम्भ गर्दै एजी नुमलाल पौडेलले रोटरीको लक्ष्य र योजना अनुसार महत्वपूर्ण काम गर्न क्लब तथा टिम सफल भएको बताए। प्लान अफ एक्सनमा आधारित भएर काम गर्दा उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिए ।
एसेम्बलीमा क्लबका पाँच स्थायी समितिका अध्यक्षहरूले आ–आफ्नो समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। क्लब एडमिनिस्ट्रेसन चेयर शंकर ज्ञवाली, क्लब सर्भिस प्रोजेक्ट चेयर दलबहादुर क्षेत्री, पब्लिक इमेज चेयर बिनिता थापा, मेम्बरसीप चेयर केशव बश्याल र टीआरएफ चेयर टीकाराम पन्थीले समितिका गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराएका थिए ।
क्लब अध्यक्ष धर्मदत्त ज्ञवालीले आगामी मंसिर १७ गते (डिसेम्बर ३) हुने डिस्ट्रिक्ट गभर्नर (डीजी) को भ्रमणको तयारी स्वरूप एसेम्बली आयोजना गरिएको बताए । सामाजिक सेवाका क्षेत्रमा सक्रिय क्लबले आगामी दिनमा पनि योजनाबद्ध रूपमा सेवामूलक गतिविधिलाई अघि बढाउने उनले बताए । कार्यक्रममा क्लब प्रेसिडेन्ट काउन्सिलका चेयर राजेन्द्र ढकाल, पूर्वअध्यक्ष पिताम्बर ज्ञवाली, उपाध्यक्ष कमल नेपाल, सदस्य यशोधा भट्टराई लगायतको सहभागिता रहेको थियो ।




















