बुटवल, १० मंसिर ।
मौलिक खानाका परिकारमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बुटवलमा खाना महोत्सव हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित रंगशालामा हुने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
संघले बिहीबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो । महोत्सवमा थारू, नेवारी, मगर, थकालीलगायत विभिन्न जातजातिका मौलिक परिकारका ६० खानाका स्टलहरु रहने महोत्सव संयोजक तथा संघका अध्यक्ष माधवकुमार खनालले बताए । नेपाली मौलिक खानाको स्वादसँगै कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको दाबी छ । उनका अनुसार महोत्सवमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । खाद्य स्वच्छता र सरसफाइमा पनि विशेष ध्यान दिइने उनले बताए । आयोजकले महोत्सवमा दुई लाख दर्शक सहभागी हुने र एक करोड ५० लाख रूपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरेको छ ।
संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले खाना महोत्सव बुटवलको पहिचान र ब्रान्डका रूपमा स्थापित भइसकेको बताए । महोत्सव हरेक दिन साँझ ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । त्यसक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम छ । उद्घाटनअघि बुटवलका विभिन्न स्थानबाट झाँकीसहित सहभागीहरू महोत्सवस्थल पुग्नेछन् । बुटवलमा २०७५ सालदेखि निरन्तर सडक खाना महोत्सव आयोजना हुँदै आएको छ ।
भिडियो रिर्पोट


















