काठमाडौं,१० मंसिर ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र दिगो बनाउन स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ भने आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा बिहीबार मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग विधेयक संशोधनका विषयमा छलफल भएको थियो । यसअघि पनि मन्त्रालयले विभिन्न निकाय तथा सरोकारवालासँग चरणबद्ध रूपमा छलफल गर्दै आएको छ । प्रस्तावित संशोधनमा स्वास्थ्य बीमाको योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ ।
सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको उपचार खर्च राज्यले बेहोर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यसैगरी स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने प्रस्ताव पनि संशोधनमा समेटिएको छ ।
बीमा सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय समेत प्रस्तावित छन् । मन्त्रालयका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई उपचार खर्च व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने लक्ष्य राखिएको छ । आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार अघि बढाइएको मन्त्री मेहताले बताएकी छन् ।


















