दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि क्याथ ल्याब सेवा सुरु भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा उक्त सेवाको उद्घाटन गर्नुभएको हो ।
क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारमा सहजता हुने अपेक्षा गरिएको छ । यसबाट विशेषज्ञ उपचारका लागि अन्य ठूला अस्पतालमा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
सेवाको उद्घाटन गर्दै मन्त्री मेहताले क्याथ ल्याब सञ्चालनले यस क्षेत्रको स्वास्थ्य सेवाको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताईन । उनले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउँदै नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिईन । कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत छलफल भएको थियो । मन्त्री मेहताले प्रतिष्ठानको सेवा विस्तार तथा स्तरोन्नतिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
क्याथ ल्याब सेवा सञ्चालनसँगै प्रतिष्ठानमा मुटुसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार हुने र यस क्षेत्रका बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने समस्या कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।






















