Spread the love

पोखरा । पोखराको पृथ्वीचोक बसपार्क क्षेत्रमा पर्यटकलाई हैरानी दिएको तथा जबरजस्ती सवारीसाधन वा होटलमा लैजान खोजेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा मंगलबार दिउँसो करिब १ बजे वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले निगरानीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा इन्ड्राइभ, पठाओ तथा जिप चालकसहित यात्रुलाई हैरानी दिने व्यक्तिहरू छन्। उनीहरूले पर्यटक तथा यात्रुलाई आफ्नो सवारीसाधन वा होटलमा लैजान दबाब दिने गरेको आरोप छ।

पक्राउ परेका १५ जनालाई अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ–११ का ३१ वर्षीय मनोज बस्याल, पोखरा–७ का २१ वर्षीय संजय आले, पोखरा–७ कै ३० वर्षीय पवन ढकाल, पोखरा–११ रानीपौवाका ४३ वर्षीय अनिल परियार, पोखरा–१६ का २० वर्षीय जीवन घताने, पोखरा–८ का २६ वर्षीय राकेश चौधरी, पोखरा–१५ नयाँगाउँका ४० वर्षीय विक्रम थापा, पोखरा–१३ काउखोलाका ४२ वर्षीय रेशम सापकोटा, पोखरा–१५ का ४३ वर्षीय राजकुमार सुनार, पोखरा–९ का ४० वर्षीय सन्तोष कार्की र ४० वर्षीय शुसिल राना रहेका छन्।

त्यस्तै, पोखरा–१५ बस्ने ४६ वर्षीय वीरप्रसाद गुरुङ, पोखरा–१४ खल्टे मसिनाका २१ वर्षीय सोहन परियार, पोखरा–१४ का ३९ वर्षीय कृष्ण तिमिल्सिना र पोखरा–१० बस्ने ४९ वर्षीय लिला बहादुर राना पनि पक्राउ परेका छन्।

प्रहरीले पर्यटक तथा यात्रुलाई अनावश्यक हैरानी दिने, जबरजस्ती सवारी वा होटलमा लैजान खोज्ने गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्