काठमाडौं,२५ असोज ।
नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राख्ने चलन रहेको छ ।
आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले बताए। सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको उनले जानकारी दिए ।
जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।




















