Spread the love

नवलपरासी । विद्यालयमा विपद् पूर्वतयारीका गतिविधिलाई गम्भीरतापूर्वक अघि बढाउन सरोकारवालाले आग्रह गरेका छन् । विपद्को जोखिम न्यूनीकरणका लागि विद्यालयमै विपद् नक्साङ्कन, विपद् शिक्षा समूह गठन तथा नियमित विपद् अभ्यासजस्ता आधारभूत गतिविधि सञ्चालन गर्न सके जोखिमबाट हुने क्षति न्यूनीकरण गर्न सकिने उनीहरूले बताएका हुन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, लुम्बिनीको समन्वय तथा सामाजिक विकास डिभिजन कार्यालय, नवलपरासीको आयोजनामा मंगलबार आदर्श माध्यमिक विद्यालयमा सम्पन्न ‘विपद्मा शिक्षा एवं आयोजना कार्यक्रम कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ मा बोल्ने वक्ताहरूले विद्यालय तहबाटै विपद् पूर्वतयारी र सचेतनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । हरेक विद्यालयमा १० बुदे कार्यसूची तयार गर्न उनले आग्रह गरे ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई, नवलपरासीका प्रमुख महेन्द्र सुवेदीले नितिगत विषयमा रहेका प्रावधानहरु बारे प्रकाश पारे । विपद् आउनुअघि आवश्यक तयारी र अभ्यास गर्न नसक्दा हरेक पटक ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले विद्यालयमा हुनसक्ने सम्भावित विपद्को पहिचान गरी जोखिम क्षेत्रको नक्साङ्कन गर्ने, विद्यार्थी तथा शिक्षकलाई विपद् शिक्षा प्रदान गर्ने र आपत्कालीन अवस्थाको अभ्यास गराउने कार्यलाई नियमित बनाउन सुझाव दिए ।

कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय नवलपरासीका प्रमुख हरि बिष्टले नवलपरासी क्षेत्रमा रहेका विद्यालयहरुको अवस्था र त्यहाको सम्भावित जोखिमबारे बुझन र बुझाउने गरि कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय नवलपरासीका ई महेन्द्र प्रकाश चौधरीले जिल्लाका अधिकाश सामुदायिक विद्यालयहरुका पूर्वाधार मापदण्ड अनुसार नै निमार्ण भएको बताए । केही पुराना विद्यालयहरुका जिर्ण भवनहरु बन्ने क्रममा रहेको उनले दाबी गरे । तीन तह तथा सम्बन्धित निकायसँग समन्वय गरि पूर्वाधार निमार्णमा विद्यालय ब्यवस्थापन समिति अघि बढ्नसमेत उनले आग्रह गरे ।

कार्यक्रममा शिक्षा तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा सहजीकरण गर्दै शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल लुम्बिनी प्रदेशका संयोजक कृष्ण मल्लले त्रिशुली बाढी र त्यसबाट सो क्षेत्रको शैक्षिक पूर्वाधारमा भएको क्षतिबारे बताउदै यस विषयमा गम्भिर हुनुपर्ने बताए । तीन तहकै सरकारको बिपद कोषमा ठूलो रकम रहेपनि त्यसको सदुपयोग हुन नसकेको उनले गुनासो गरे । ‘विपद कोषको २५ प्रतिशत पनि रकम खर्च भएको छैन ।’–उनले भने ।

त्रिशुली नदीमा आएको बाढीका कारण नवलपरासीको सुस्ताका दुई विद्यालय प्रभावित भएको छ । सुस्ता ५ मा रहेको जनता दलित आधारभुत विद्यालयका विद्यार्थीहरु विस्थापित हुदा पठनपाठन बन्द भएको सुस्ता गाउपालिका नवलपरासी सहायक शिक्षा अधिकारी चन्द्र बहादुर ठाडामगरले बताए । यता सुस्ताकै दिपेन्द्र आधारभुत विद्यालयमा भने मंगलबारदेखिमात्र पढाई शुरु भएको छ । सुस्ताका ३ विद्यालयका गरि करीब १३ सय जना विद्यार्थीहरु अहिले शिक्षाबाट बन्चित भएका छन । बिपि माध्यामिक विद्यालय बलिचोक समेत होल्डिङ सेन्टर बनाउदा सो विद्यालयमा समेत पढाई रोकिएको छ ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्