बुटवल, १४ असोज ।
खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ जी ट्वान्टी फाइभ क्लबले दोस्रो संस्करणको बुटवल उपमहानगरपालिका वडा स्तरीय सेभेन ए साइड भेट्रान्स फुटबल कप–२०८३ गर्ने भएको छ । विजयादशमी तथा शुभ दीपावलीको अवसरमा क्लबले असोज २६ गतेदेखि ३० गतेसम्म प्रतियोगिता गर्ने भएको हो ।
देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका वडाका भेट्रान्स खेलाडीहरुको टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष सजन कुमार भारीले बताए । विभिन्न उपसमितिमार्फत टिम दर्ता, ब्यवस्थापनको काम भैरहेको उनले बताए । ‘सबै वडाहरुमा पत्राचार भएको छ ।’– उनले भने ।
प्रतियोगिताको विजेता टिमले रु. १ लाख ५ हजार ५ सय ५५ तथा उपविजेताले रु. ५५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्ने खेल संयोजक रमेश कुमार जोशीले खस्यौलीखबरलाई बताए । यस्तै उत्कृष्ट खेलाडीलाई रु. ७ हजार ५ सय ५५, सर्वाधिक गोलकर्तालाई रु. ६ हजार ५ सय ५५ र उत्कृष्ट गोलरक्षकलाई रु. ६ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए । प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
वडाको सिफारिस भएको टिमले दर्ता गर्न पाउने ब्यवस्था भएको उनले बताए । दर्ताको लागि असोज २० गतेसम्म समय निर्धारित गरिएको छ । प्रत्येक टिममा ४ जना ४० वर्ष पुगेको र ३ जना ४५ उमेर पुगेको हुनुपर्नेछ । पहिलो संस्करणमा वडा नं. ११ विजेता तथा वडा नं. ७ उपविजेता रहेको थियो ।





















