Spread the love

बुटवल, १२ असोज ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का संस्थापक तथा उद्योगपति विनोद चौधरीले युवा पुस्ताको ऊर्जा, नयाँ सोच र अनुभवी पुस्ताको ज्ञानलाई एकीकृत गरेर देशको नेतृत्व अघि बढाउनुपर्ने बताएका छन् । सीएनआईवाईईएफ लुम्बिनीको वार्षिक साधारणसभाको उद्घाटन गर्दै चौधरीले नेपालको पछिल्लो तीन दशकको आर्थिक तथा राजनीतिक अवस्थाको चर्चा गर्दै परिवर्तनलाई संस्थागत गर्न नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताए । उनले संक्रमणकालीन राजनीतिका कारण देशमा विभिन्न विकृति भित्रिएको दाबी गर्दै यसको असर आर्थिक क्षेत्रमा समेत परेको बताए । नेपालमा करिब तीन करोड जनसंख्या रहेको अवस्थामा ठूलो संख्यामा नेपाली सामान्य रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले यसले परिवार र सामाजिक संरचनामा समेत असर पारेको बताए ।

“हरेक घर टुट्यो, सबको मन टुट्यो। यसले एउटा फरक प्रकारको आँधी ल्यायो र धेरै जनधनको नाश भयो,” उनले भने । चौधरीले नयाँ पुस्ताले देशको नेतृत्व गर्नुपर्ने अवस्था आए पनि परम्परागत राजनीतिक दलहरू समयअनुकूल रूपमा अघि बढ्न नसकेको बताए । अहिलेको पुस्ता नयाँ सोच र प्रविधिसहित अघि बढिरहेको तथा कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा प्रवेश गरिसकेको भन्दै उनले युवा शक्ति र अनुभव दुवैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले नेतृत्व छनोट गर्दा राजनीतिक पहुँचभन्दा विशेषज्ञता र क्षमतालाई आधार बनाउनुपर्ने धारणा राखे । नेपालमा कानुनले समस्या समाधान गर्नेभन्दा पनि कतिपय अवस्थामा थप कठिनाइ सिर्जना गर्ने अवस्था रहेको उल्लेख गर्दै कानुनी प्रणालीलाई समयअनुकूल सुधार गर्नुपर्ने बताए । देशमा तीव्र परिवर्तन आवश्यक रहेको बताउँदै चौधरीले अहिले देखिएको परिवर्तनलाई सर्तरहित सहयोग आवश्यक रहेको धारणा राखे । उद्योग र राजनीतिबीच तुलना गर्दै उनले उद्योगीले बजारका उपभोक्ताको चाहना र मागअनुसार वस्तु तथा सेवा उत्पादन गर्न नसके बजारमा टिक्न नसक्ने बताए । त्यसैगरी राजनीतिमा जनतालाई नै उपभोक्ताका रूपमा हेर्नुपर्ने र जनताको चाहना तथा आवश्यकतालाई सम्बोधन गर्न नसक्ने राजनीतिक नेतृत्व दीर्घकालीन रूपमा टिक्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधि सभासदस्य डा. लेखजंग थापाले सुचना, प्रविधिको पहुचका कारण विश्व सानो भएको भन्दै यसबाट अवसर सृजना समेत भएको बताए । नेपालमा बसेर नेपालको आर्थिक विकास गर्ने लक्ष्य बोक्नुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा प्रतिनिधि सभासदस्य सुलभ खरेल, सिएनआईका बोर्ड मेम्बर प्राचि अग्रवाल, सिएनआईवाईईएफका केन्द्रिय अध्यक्ष सुगम घिमिरे, सिएनआई लुम्बिनीका प्रदेशका अध्यक्ष एजाज आलम, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले प्रविधि, युवा र पर्यटनलाई आर्थिक विकासको आधार बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष राजन कसजुले आफनो कार्यकालमा गरेको कार्यक्रम र यसबाट युवा उद्यमी र समुदायमा भएका प्रभावबारे प्रकाश पारे ।

कार्यक्रममा डाईरेक्टर अभिनव थापाले युवाहरुलाई संगठित गर्ने, नया सिक्ने, अनुभव र समुदायमा योगदान दिने जस्ता महत्वपूर्ण काममा आफुहरु लागेको बताए । युवाहरु संगठित भएर सम्बन्ध बढाउने, नया नया प्रविधि सिक्ने, बुझ्ने र उद्योगहरुको भ्रमण गरि अनुभव लिने जस्ता काम गरेको उनले बताए । कफि टेबलदेखि पोलिसी निर्माणसम्मका छलफल गर्ने गरेको उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्