बुटवल, ११ असोज ।
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३ सोमबारदेखि बुटवलमा सुरु हुने भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिता असोज १२ देखि १७ गतेसम्म बुटवल मण्डपमा सञ्चालन हुनेछ । लगातारको वर्षा र प्रतिकूल मौसमका बाबजुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको एकेडेमीका केन्द्रिय भलिबल विभाग उपप्रमुख बुद्धि बश्यालले बताए । प्रतियोगिताका लागि बुटवल मण्डपमा करिब ४ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । खेलमैदानमा अन्तर्राष्ट्रिय मापदण्डको म्याट बिछ्याउने तथा खेलाडी र प्राविधिक व्यवस्थापनको काम पनि भइरहेको छ ।
प्रतियोगितामा नेपालका पाँच, भारतका दुई र श्रीलंकाको एक गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार नेपालबाट नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लब सहभागी हुँदैछन् । त्यस्तै, भारतबाट गुजरात स्टेट भलिबल एसोसिएसन र खैरा क्लब पञ्जाब तथा श्रीलंकाबाट श्रीलंका पुलिस क्लब ले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले ३ लाख ५० हजार, तृतीय हुने टोलीले १ लाख ७५ हजार तथा चौथो टोलीले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, ब्लकर र डिफेन्डरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई ५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । ट्रफी, मेडल, प्रमाणपत्र तथा विधागत पुरस्कारसहित प्रतियोगितामा कुल ३१ लाख ६१ हजार रुपैयाँ पुरस्कार तथा सम्मानमा खर्च हुने अनुमान गरिएको छ । सहभागी खेलाडी, निर्णायक तथा प्राविधिक जनशक्तिका लागि दुर्घटना बीमाको समेत व्यवस्था गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । अध्यक्ष आचार्यका अनुसार प्रतियोगिता सञ्चालनका लागि १ करोड ५३ लाख ४४ हजार ९ सय रुपैयाँको बजेट अनुमान गरिएको छ ।
यसमध्ये खेलाडी, अफिसियल तथा आयोजक व्यवस्थापनतर्फ ५६ लाख २३ हजार ९ सय, यातायातमा १० लाख, कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा २७ लाख ६० हजार, प्रचारप्रसार तथा सञ्चारमा १३ लाख ७५ हजार र विविधतर्फ १४ लाख २५ हजार रुपैयाँ छुट्याइएको छ । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, स्थानीय सरकार, कर्पोरेट प्रायोजक, बैंक तथा वित्तीय संस्थालगायतका स्रोतबाट आर्थिक व्यवस्थापन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्री चन्द्र बदना राई रेफ्री डेलिगेटका रूपमा रहनेछन् ।
भिडियो रिर्पोट




















