बुटवल, १० असोज ।
निरन्तर वर्षा हुन थालेपछि तिनाउ नदी आसपासका बस्तीमा बसोबास गर्ने बुटवलवासीको चिन्ता बढ्ने गरेको छ । वर्षासँगै नदीको बहाव बढ्न थालेपछि रातको निद्रासमेत हराउने गरेको स्थानीय बासिन्दा बताउँछन् । बुटवल उपमहानगरपालिकाका वडा नं. ३, ५ र ११ तिनाउ नदीको बाढीको जोखिममा रहेका वडाका रूपमा चिनिन्छन् ।
लगातार वर्षा हुँदा यी वडाका नदी किनार तथा जोखिमयुक्त बस्तीका बासिन्दा तिनाउको बहाव कस्तो छ भन्ने चिन्तामा रहने गरेका छन् । विशेषगरी रातिको समयमा वर्षा बढ्दा नदीको जलस्तर बढ्ने र बाढी आउन सक्ने त्रासले स्थानीयवासीलाई सताउने गरेको छ । वर्षाको अवस्था र तिनाउ नदीको बहावबारे जानकारी लिन स्थानीयहरू पटक–पटक नदीको अवस्था बुझ्ने तथा पूर्वसूचनाको प्रतीक्षा गर्ने गरेका छन् । लगातारको वर्षासंगै बाढी र डुवानको जोखिमलाई मध्येनजर गरि यहाका जनप्रतिनिधिहरु सचेतना र सर्तकता बुझाउदै हिडेका छन ।
वर्षा, बाढी तथा डुबानको जोखिम हुनसक्ने स्थानका बासिन्दालाई आवश्यक सावधानी अपनाउन, जोखिमयुक्त क्षेत्रमा नजान र कुनै समस्या देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरिएको वडा नं. ३ का वडाअध्यक्ष विष्णु ढकालले बताए । ‘अटो रिक्सा लिएर वडाका गल्ली–गल्लीमा पुग्दै नागरिकलाई सचेत गराइरहेका छौ ।’– उनले भने ।
शुक्रबार आएको बाढीका कारण वडा नं. ५ का केही घरमा क्षति पुगेको छ । सुरक्षा निकाय, जनप्रतिनिधि, स्थानिय युवाहरुमार्फत सौभाग्य नगरका ८ घरका ३९ जनालाई कान्ति माबिको होल्डिङ सेन्टरमा राखिएको वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठले खस्यौलीखबरलाई बताए । ‘असोज १२ गतेसम्म मौसमको अवस्थालाई मध्येनगर गर्दै होल्डिङ सेन्टरमा आवश्यक ब्यवस्थापनको काम गरेका छौ ।’– उनले भने ।
क्यान्टिनमा खाना खुवाउने समेत ब्यवस्था गरिएको छ । वडाको मुख्य जोखिमयुक्त टोलहरु जनएकता र सौभाग्य नगरमा युवा क्लब, टोल समिति, स्वयंसेवक परिचालनलाई जोड दिएको उनले बताए । यसैगरि आवश्यक सुरक्षा सामग्रीहरु र साईरनको समेत ब्यवस्था गरिएको उनले बताए । नदीको बहावबारे जानकारी दिने माईकिङ समेत निरन्तर गरिरहेको उनले बताए । ज्ञानोदय माबि, सिद्धार्थ क्याम्पस, हाटबजार क्षेत्रमा समेत जोखिम देखिएपछि कान्ति माबिमा होल्डिङ सेन्टर स्थापना भएको उनले बताए ।
यता बुटवलकै सबैभन्दा धेरै अब्यवस्थित र सुकुम्बासी बसोबास रहेको वडा नं. ११ का जनप्रतिनिधिहरु समेत मैदानमा खटिएका छन । उनिहरु टोलटोलमा पुगेर सचेतना र सजगताबारे जानकारी दिईरहेका छन । सामाजिक संजालको बढीभन्दा बढी प्रयोग गरेर सुचना दिने काम गरेका छन । बुटवलमा यसअघि २०२७ साल र २०३८ सालमा सबैभन्दा ठुलो बाढी आएर जनधनको क्षति भएको थियो ।




















