Spread the love

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नुवाकोटको विदुर तथा त्रिशूली आसपासका क्षेत्रको स्थलगत अनुगमन गरेकी छिन ।
अनुगमनका क्रममा मन्त्री मेहताले विदुर नगरपालिका–१ स्थित त्रिशूली सेफ हाउस तथा क्रियापुत्री भवन, बाढी प्रभावित त्रिशूली बजार तथा नदी आसपासका क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तल्लो पिपलटार र चन्द्रज्योति माध्यमिक विद्यालयलगायतका सेल्टरमा पुगेर अवस्थाको जानकारी लिएकी हुन ।

मन्त्री मेहताले प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइते, चिकित्सक तथा स्वास्थ्यकर्मीसँग समेत भेटेर स्वास्थ्य सेवाको पछिल्लो अवस्थाबारे बुझिन । मन्त्री मेहताले प्रभावित नागरिकलाई तत्काल र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने, औषधि तथा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिने र आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको बताईन । बाढी तथा पहिरोपछि फैलिन सक्ने सरुवा रोगलगायतका स्वास्थ्य जोखिम न्यूनीकरणका लागि समेत आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रभावित नागरिकको मानसिक स्वास्थ्यलाई समेत प्राथमिकता दिँदै विभिन्न सेल्टरमा मनोपरामर्शदाता परिचालन गरी आवश्यक काउन्सिलिङ तथा उपचार सेवा प्रदान भइरहेको मन्त्री मेहताले बताईन । विपद्को अवस्थामा प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयले आवश्यक स्रोत, जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्नुका साथै सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिएको जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्