Spread the love

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित प्रदर्शनमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो ।

सुदूरपश्चिमले ६ विकेटको जित निकाल्ने क्रममा कप्तान दीपेन्द्रले सर्वाधिक ५० रन बनाए । दीपेन्द्रले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । उनलाई साथ दिएका इशान पाण्डेले ३१ बलमा ३७ रन बनाए । दीपेन्द्र र इशानले चौथो विकेटका लागि ७४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई जिततर्फ अग्रसर गराए । शेर्फन रदरफोर्ड ८ रनमा अविजित रहे । सुदूरपश्चिमले सुरुवातमै विनोद भण्डारीलाई ४ रनमा गुमाएको थियो । त्यसपछि सैफ अली जैब र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । जैबले १४ र म्याकमुलेनले २२ रन बनाए ।

बलिङमा पोखराका धनञ्जय लक्षन, महेदी हसन र शाकिब अल हसनले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो । पोखराका लागि अर्जुन घर्तीमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्जुनले अन्तिम ओभरमा १५ रन जोड्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पु¥याएका थिए । महेदी हसनले ३२ रन बनाए । उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । कुशलले १७ बलमा २ चौकासहित २१ रन बनाए ।

पोखराका ओपनर दिनेश खरेल ४ रनमा आउट भए । शाकिब अल हसनले १४, सदिरा समरविक्रमाले ८, धनञ्जय लक्षनले ११ र किरण ठगुन्नाले १ रन बनाए । विपिन खत्री ५ रनमा अविजित रहे । सुदूरपश्चिमको बलिङमा अनिल खरेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । अनिलले महेदी हसन, शाकिब अल हसन र सदिरा समरविक्रमालाई आउट गरे । हेमन्त धामी, स्कट कुगेलेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । एनपीएलअन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज दिउँसो १२ः३० बजे आमनेसामने हुनेछन् । दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्