Spread the love

बुटवल । नेपाली कला, संस्कृति, स्थानीय खानपान र सामाजिक सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा ‘बृहत् शुभ दीपावली साँझ तथा फुड फेस्टिबल–२०८३’ आयोजना हुने भएको छ । ह्याप्पी क्लब र रुपन्देही इभेन्ट्स व्यवसायी संघको संयुक्त आयोजनामा आगामी कार्तिक २३ गते सोमबार बुटवल उपमहानगरपालिका–३, पुल्चोक–गोलपार्कमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममार्फत नेपाली मौलिक कला तथा संस्कृतिको संरक्षण, स्थानीय कलाकारलाई प्रोत्साहन, खाद्य व्यवसायको प्रवद्र्धन र समुदायबीच आपसी सद्भाव अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजक संघका अध्यक्ष किरण श्रेष्ठले बताए । दीपावली विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, स्थानीय खाद्य परिकारका स्टल, कलाकारका प्रस्तुति, प्रायोजक संस्थाको ब्रान्डिङ र अतिथि सम्मान कार्यक्रमका मुख्य आकर्षण रहने प्रस्तावमा उल्लेख छ ।

कार्यक्रममा स्थानीय रेस्टुरेन्ट, खाद्य व्यवसायी तथा साना उद्यमीलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार गर्ने अवसर प्रदान गरिने छ । त्यस्तै, युवाको सहभागिता बढाउनुका साथै परिवारसहित मनोरञ्जन लिन सक्ने सुरक्षित र व्यवस्थित उत्सवको वातावरण निर्माण गर्ने आयोजकको लक्ष्य छ । ह्याप्पी क्लबले स्थापनाकालदेखि नै सामाजिक सेवा, युवा सशक्तीकरण, मानवीय सहयोग तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ । क्लबले रक्तदान, विपद् राहत, बिरामीलाई सहयोग, वातावरण संरक्षण, ट्राफिक जनचेतना र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । त्यसैगरी, रुपन्देही इभेन्ट्स व्यवसायी संघले टेन्ट, लाइट, साउन्ड तथा डेकोरेसन व्यवसायमा संलग्न व्यवसायीको हकहित संरक्षणसँगै सामाजिक सेवामूलक गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ ।

प्रायोजकलाई कार्यक्रमका प्रचार सामग्रीमा लोगो समावेश, मञ्चमा ब्रान्डिङ, उद्घोषणमार्फत पहिचान, डिजिटल प्रचारप्रसार तथा आवश्यकताअनुसार स्टल उपलब्ध गराउने प्रस्ताव गरिएको छ । आयोजकले दीपावलीलाई संस्कृति, सामाजिक सद्भाव, स्थानीय उद्यम र मनोरञ्जनसँग जोड्दै कार्यक्रमलाई सामुदायिक सहकार्यको साझा उत्सवका रूपमा विकास गर्ने लक्ष्य राखेका छन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्