Spread the love

बुटवल, १२ कार्तिक ।
स्वस्थ शरीरसँगै स्वस्थ सोच र सकारात्मक कर्मको विकास गर्दै स्वस्थ समुदाय निर्माण गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका वडा नं. ३ मा सञ्चालित ‘निरोगी अभियान’ प्रभावकारी बन्दै गएको छ । वडाले विगत एक वर्षदेखि सञ्चालन गर्दै आएको अभियानमा सात वर्षदेखि ७० वर्षसम्मका स्थानीय नागरिक नियमित रूपमा शारीरिक व्यायाममा सहभागी हुँदै आएका छन् । शहरी जीवनशैलीका कारण शारीरिक सक्रियता घट्दै गइरहेका बेला स्थानीय नागरिकलाई नियमित व्यायामको बानी विकास गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

अभियानअन्तर्गत योग र जुम्बासहितका व्यायाम कक्षा सञ्चालन हुँदै आएका छन् । हरेक बिहान पाँच बजे राष्ट्रिय गानसँगै सुरु हुने व्यायाम कार्यक्रममा सहभागीहरू नियमित रूपमा शारीरिक अभ्यास गर्छन् । डेढ वर्षदेखि नियमित व्यायाममा सहभागी हुन थालेपछि आफ्नो स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको सहभागी माधव नेपालको दाबी गर्छन । सबै उमेर समुह सहभागी हुन मिल्ने ब्यायाम हुने गरेको उनले बताए ।

२०८१ जेठ २९ गतेबाट औपचारिक शुरुमा ब्यायाम शुभारम्भ भएको संस्थापक सदस्य मेघनाथ पाण्डेले बताए । ‘हामी स्वास्थ्य रहौ र सबै स्वास्थ्य बनाऔ ।’ भन्ने नारासहित आयोजना भएको कक्षामा करीब २ सयदेखी ३ सय जनासम्म दैनिक सहभागी हुने गरेको उनले बताए । जुम्बा, योगा, फ्रि डान्स जस्ता क्रियाकलापमा सहभागी हुने गरेको उनले बताए । समुदायको मिलन र समाजसेवाको भावनासमेत विकास गर्न सफल भएको उनि बताउछन ।

ब्यवसायी समन्द्र जिसिको समेत शरीर फिट भएको बताउछन । नियमित योग अभ्यासमा सहभागी भएपछि भुडी घटेर गएको छ भने शरीर फुर्तिलो, निद्रा राम्रो लाग्ने र सामान्य रुघाखोकी तथा ज्वरोसमेत नआएको उनि बताउछन । ‘सबैलाई यो ब्यायाम जरुरी छ ।’– उनले भने । नियमित व्यायामले शरीरलाई लचिलो र सक्रिय बनाएको सहभागीहरूको भनाइ छ । उनीहरूले व्यायामलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउँदा शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन सहयोग पुगेको अनुभव सुनाउँछन् ।

बुटवलका ब्यवसायी जोगलाल विश्वकर्मा पनि नियमित बिहान आएर बहुमुखी क्याम्पस मैदानमा योग ब्यायाम गर्छ । गीतमा नाच्ने र विभिन्न ब्यायाम गर्दा शरीर स्वास्थ्य भएको बताउछन । अनिद्रा, तनाव, मधुमेह र उच्च रक्तचापजस्ता समस्या नियमित व्यायामबाट लाभ पुगेको उनले अनुभव सुनाए ।

घरायसी काममै हराउने देवी गुरुङ अहिले ब्यायाम प्रशिक्षणमा सक्रिय छिन । उमेरले ६० वर्षकी उनि अहिले आफुले सिकेका ज्ञान बाड्दै छिन । बिहान ५ देखि ६ बजेसम्म गितमा ब्यायाम र त्यसपछि योग अभ्यासमा शुक्ष्म ब्यायामहरु गराउने गरेको उनले बताईन । खुट्टाका घुडाहरु दुख्ने र चल्न समस्या भएकी उनि लक्ष्मीनगरमा शुरुमा ब्यायाममा सहभागी भएकी थिईन । बिस्तारै नियमित अभ्याससंगै उनको शरीरमा परिवर्तन आए । ब्यायामबाट रोकिएका नसाहरु खुल्ने, शरीर फ्रुतिलो हुने उनको दाबी छ ।

वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल प्रमुख संरक्षक रहेको ‘गुड मर्निङ बहुमुखी’ मार्फत अभियान सञ्चालन हुँदै आएको छ । व्यस्त शहरी जीवनशैलीमा रहेका नागरिकलाई दैनिक कम्तीमा एक घण्टा शारीरिक गतिविधिमा सहभागी गराउने लक्ष्य अभियानले लिएको छ । अभियानका संरक्षक तथा वडाध्यक्ष ढकालका अनुसार योग र जुम्बासहितका व्यायाम कक्षाले नागरिकलाई सक्रिय जीवनशैली अपनाउन प्रेरित गरेको छ । स्वस्थ नागरिक नै स्वस्थ समाज र समृद्ध राष्ट्र निर्माणको आधार भएको भन्दै स्वास्थ्यलाई उपचारमा मात्र सीमित नराखी रोग लाग्न नदिनेतर्फ ध्यान दिने गरि अभियान चलाएको उनले दाबी गरे । निशुल्क रुपमा संचालन भएको कक्षामा दैनिक २ सयदेखी ३ सय जना सहभागी हुने गरेको उनि बताउछन । नियमित व्यायाम, अनुशासित जीवनशैली र सामूहिक सहभागितामार्फत समुदायको स्वास्थ्य सुधार गर्न सकिने अवस्था सृजना भएको उनि बताउछन ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्