काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
शनिबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भू–भागमा वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा तनहुँको खैरेनीटारमा २२.२ मिलिमिटर, लमजुङको भोर्लेटारमा २२ मिलिमिटर, नुवाकोटको बेत्रावतीमा २०.८ मिलिमिटर र म्याग्दीको तातोपानीमा १०.६ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।
अन्य स्थानमा भने छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। शनिबार दिउँसो देशभर सामान्यतया बदली रहने तथा हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान, मधेश प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
शनिबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भू–भाग र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा शनिबार राति भारी वर्षा हुनसक्ने सम्भावना छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, डुबान तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।





















