बुटवल, ५ भदौ ।
बालश्रम न्यूनीकरण तथा उन्मूलनका लागि स्थानीय सरकार, नागरिक समाज र निजी क्षेत्रबीचको एकीकृत तथा त्रिपक्षीय प्रयास आवश्यक रहेको सरोकारवालाले बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आयोजित ‘बालश्रम न्यूनीकरण तथा उन्मूलनका लागि लुम्बिनी प्रदेशमा पहिचान र न्यूनीकरणका उपाय’ विषयक अन्तरक्रियात्मक बैठकमा सहभागीले बालश्रम अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसाय, सार्वजनिक यातायात सेवा र इँटाभट्टा उद्योगमा केन्द्रित भएर बालश्रमको अवस्था, चुनौती र न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो। सहभागीले बालश्रम कानुनी अपराध मात्र नभई देशको भविष्य र विकासको आधारलाई कमजोर बनाउने विषय भएकाले यसको रोकथाम र न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने बताए ।
राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्यले बालश्रमिकमाथि हुने दुव्र्यवहार रोक्न तथा उनीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका लागि संवेदनशील भएर काम गर्नुपर्ने बताए ।
श्रम तथा रोजगार कार्यालय, लुम्बिनी प्रदेशका सूचना अधिकृत ऋषिराम पन्थीले श्रम कार्यालयले श्रमिक र व्यवसायीबीच पुलको रूपमा काम गरिरहेको बताए । उनले १४ वर्षभन्दा माथिका बालबालिकाका हकमा अभिभावकको सहमति र श्रम कार्यालयको स्वीकृतिमा काम गर्न पाउने कानुनी प्रावधान भए पनि अधिकांश संस्थाले स्वीकृति नलिई काममा लगाउँदा समस्या हुने गरेको बताए ।
पिस नेपाल र सेभ द चिल्ड्रेन इन्टरनेसनलको संयुक्त साझेदारीमा सञ्चालित ‘संकल्प–टुगेदर फर चिल्ड्रेन राइज’ परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा दाङका इँटा व्यवसायी सन्तोष डिसीले अभिभावकसँगै इँटाभट्टामा आउने बालबालिकाको विषयमा व्यवसायीहरू चिन्तित रहेको बताए। उनले बालबालिकालाई काममा प्रयोग गर्ने क्रम बाहिर देखिएजस्तो धेरै नरहेको दाबी गर्दै उनीहरूको शिक्षाका विषयमा विभिन्न चरणमा छलफल भए पनि प्रभावकारी समाधान अझै ननिस्किएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका कृष्णप्रसाद घिमिरेले बालश्रमसम्बन्धी कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।
कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी संघका प्रकाश गैरे, तिलोत्तमा नगरपालिकाका शिक्षा अधिकृत धनीप्रसाद शर्मा, बुटवल उपमहानगरपालिकाकी संगीता अर्याल तथा गैरसरकारी संस्था महासंघकी सावित्रा घिमिरेलगायतले बालश्रमको अवस्था र त्यसले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा भविष्यमा पार्ने प्रभावबारे धारणा राखेका थिए ।
पिस नेपालका कार्यकारी निर्देशक मणिप्रसाद गैरेले कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए भने बाल अधिकारका लागि नागरिक संस्थाको सञ्जालकी सदस्य गीता अर्यालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।





















