बुटवल, २७ साउन ।
सामाजिक क्षेत्रमा अग्रसर रोटरी क्लब अफ बुटवल डाउन टाउनले पाल्पाको बगनासकाली गाउँपालिकाका सरकारी कर्मचारी र गैररोटरी ब्यक्तित्वहरु बिच रोटरी अभियान चलाउनेबारे छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले रोटरीको सहयोगमा गाउँपालिकाका ८ जना व्यक्तिहरुलाई कृत्रिम हातखुट्टा जडान गरि महत्वपूर्ण सहयोग भएको बताईन । मानवीय सेवामा रोटरीबाट शारीरिक रूपमा कठिनाइ भोगिरहेका गाउपालिकाका ब्यक्तिहरुलाई कृत्रिम अंग उपलब्ध गराउने कार्यबाट उनिहरुमा आत्मविश्वास र आत्मनिर्भरता बढाउन महत्वपूर्ण सहयोग हुनुको साथै पुण्य काम भएको बताईन ।
कार्यक्रममा कृत्रिम हातखुट्टा प्राप्त गर्ने ८ जना लाभग्राहीहरुको अनुभव आदानप्रदानसहित गाउँपालिकाको तर्फबाट रोटरी क्लबलाई धन्यवाद तथा सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष हरि प्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले मानवीय सेवाप्रति रोटरीको अभियानलाई विशेष धन्यबाद व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा क्लबका अध्यक्ष धर्मदत्त ज्ञवालीले रोटरीको फोर–वे टेस्ट बारे जानकारी प्रदान गर्दै पालिका साथै सम्पुर्ण वडाका बडाध्यक्षलाई वितरण गरिएको थियो ।





















