काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बिहीबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थानको आसपास तथा पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि सक्रिय बनेको हो ।
बिहीबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
सबैभन्दा धेरै वर्षा कास्कीको याङ्जाकोटमा ६०.६ मिलिमिटर मापन भएको छ। त्यसपछि जाजरकोटमा ५५ मिलिमिटर, लमजुङको भुजुङमा ५२.८ मिलिमिटर, काठमाडौंको सुन्दरीजलमा ४७.६ मिलिमिटर र दार्चुलाको धरमपानीमा ४५.६ मिलिमिटर वर्षा भएको छ ।
महाशाखाका अनुसार दिउँसो हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा पनि हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्ले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, डुबान तथा नदी–नालामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।






















