बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । बिहीबार बुटवलमा आयोजित समारोहमा पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले अभियानको उद्घाटन गर्दै विश्व राजनीतिक घटनाक्रम र विभिन्न आन्दोलनले वामपन्थी शक्तिहरू निराश हुनुपर्ने अवस्था नरहेको बताए ।
उनले पुँजीवादको विकल्पमा समाजवादप्रति विश्वव्यापी आकर्षण बढ्दै गएको दाबी गर्दै त्यसबाट नेपालका वामपन्थी दलहरूले समेत उत्साहित हुनुपर्ने बताए । ब्राजिलमा वामपन्थी नेता राष्ट्रपतिमा निर्वाचित भएको र त्यसको समर्थनमा लाखौँ जनता सडकमा उत्रिएको प्रसंग उल्लेख गर्दै खनालले यसलाई विश्व राजनीतिमा वामपन्थी विचारप्रतिको समर्थनका रूपमा व्याख्या गरे । खनालले जेनजी आन्दोलनले पुराना राजनीतिक दल र नेतृत्वप्रति नकारात्मक धारणा स्थापित गरेको उल्लेख गर्दै पार्टीमा युवा सहभागिता बढाउनुपर्नेमा जोड दिए । युवालाई समेट्न नसके नेकपा पनि मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे र मोहन वैद्य नेतृत्वका दलजस्तै सीमित जिल्लामा खुम्चिने जोखिम रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेकपाका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले वर्तमान सरकारले देशलाई ‘पुलिस स्टेट’ बनाउन खोजेको आरोप लगाए । पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा चुनौतीको बहानामा पक्राउ गर्ने तथा बहालवाला मन्त्रीलाई समेत राति १२ बजे थुन्न आदेश दिने जस्ता घटनाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको उनले बताए । सरकारले प्रेस, न्यायालय र प्रहरीलगायतका निकायलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाउँदै बरालले सरकारको सुशासन र पारदर्शितासम्बन्धी प्रतिबद्धतामाथि पनि प्रश्न उठाए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गृहमन्त्री सुधन गुरुङसँग हदबन्दीभन्दा बढी जग्गा रहेको विषय उठाउँदै त्यसमा कारबाही नभएको दाबी गरे। मन्त्रीसँग सुन र हदबन्दीभन्दा बढी जग्गा रहेको भनिएको विषयलाई उनले सरकारको सुशासनसम्बन्धी दाबीसँग जोडेर आलोचना गरे ।
नेकपा रुपन्देहीका इन्चार्ज निर्मल जिसीका अनुसार अभियानअन्तर्गत पार्टी सदस्यता विस्तार, संगठन सुदृढीकरण, आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा सरकारका गलत कदमबारे जनतालाई जानकारी गराउने कार्यक्रम सञ्चालन गरिनेछ । अभियान उद्घाटन समारोहमा नेकपा रुपन्देहीका संयोजक बाबुलाल यादव, पूर्वप्रदेशसभा सदस्य दीपा विश्वकर्मा र नेता पुष्पराज ढकाल ‘क्षितिज’ लगायतले धारणा राखेका थिए ।






















