काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक १४ दिनपछि आज (बिहीबार) बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभाको बैठक असार ३१ गतेयता पहिलो पटक बस्न लागेको हो ।
आजको बैठकका लागि दुईवटा कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसपछि सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य तथा संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । लामो अन्तरालपछि बस्न लागेको यस बैठकमा सीमित कार्यसूची रहे पनि विधेयकलाई संसदीय समितिमा पठाउने प्रक्रिया अघि बढ्ने र दिवंगत पूर्व सांसद श्रेष्ठप्रति सदनले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरिएको छ ।






















