काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजनीतिक दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले तथ्य पुष्टि नगरी अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशन र प्रसारण नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले २०८३ कात्तिक १२ गते जारी गरेको प्रेस विज्ञप्तिमा आईजीपी कार्कीमाथि राजनीतिक दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणी प्रकाशित र प्रसारित भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । प्रहरीले पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार वा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आमनागरिकमा भ्रम तथा नकारात्मकता फैलिन सक्ने र नागरिकको सुरक्षामा समर्पित संस्थाको विश्वास, संगठनात्मक छवि तथा निष्ठामा असर पर्न सक्ने जनाएको छ । विज्ञप्तिमा सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको सत्यता सुनिश्चित गर्न आग्रह गरिएको छ ।
नेपाल प्रहरीले सरकारको नीतिनिर्देशनअनुसार नागरिकप्रतिको जिम्मेवारी तथा उत्तरदायित्व निर्वाह गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ । साथै, कुनै पनि प्रकारको भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रहरीले भ्रामक समाचार तथा स्वार्थकेन्द्रित टिप्पणीबाट प्रभावित नभई प्रमाणित, आधिकारिक र तथ्यमा आधारित समाचारमा विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अस्पष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न तथा जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग पु¥याउन अनुरोध गरेको छ ।






















