काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षलाई संयुक्त अपिल गरेको छ ।
नेपाली काग्रेसका सभापति गगन थापा, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेल, जनमत पार्टीका अध्यक्ष सीके राउत तथा जसपा नेपालका प्रकाश अधिकारीले हस्ताक्षर गरिएको संयुक्त वक्तव्यमा पछिल्ला घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ । साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
बैठकले नेपालको विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वको परम्परालाई जोगाउन कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि र हिंसात्मक घटनाबाट टाढा रहन सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ। वक्तव्यमा आवेग र मुठभेडले समस्या समाधान नगरी थप जटिलता निम्त्याउने भएकाले संयमता अपनाउन सबै पक्षलाई अनुरोध गरिएको छ ।
सर्वदलीय बैठकले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न हुने असन्तुष्टि र विवादहरूको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने उल्लेख गर्दै आफ्ना माग तथा असन्तुष्टि शान्तिपूर्ण ढंगले प्रस्तुत गर्न सम्बन्धित पक्षहरूलाई आह्वान गरेको छ ।
सामाजिक सद्भावलाई स्थानीय तहसम्म सुदृढ बनाउन प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न तथा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलका स्थानीय संरचनालाई निर्देशन दिइएको छ । वक्तव्यमा यस्ता संवेदनशील घटना भविष्यमा दोहोरिन नदिन राजनीतिक दलहरूको केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
त्यस्तै, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति र अफवाहले अवस्था थप जटिल बनाउन सक्ने भन्दै नागरिकलाई सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न र सञ्चारमाध्यमलाई तथ्यपरक तथा संयमित समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ ।
सर्वदलीय बैठकले नागरिकको जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै नेपाल सरकारलाई अधिकतम संयमता अपनाई परिस्थिति सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडित पक्षलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ ।






















