Spread the love

बाँके । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ निवासी अन्दाजी ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन् ।

प्रहरीका अनुसार स्थानीय दयाप्रसाद थारुको निर्माणधीन घरको आँगनमा बनाइएको सेप्टिक ट्याङ्कीभित्र बुधबार बिहान करिब ९ बजे काम गरिरहेका क्रममा तीन मजदुर फसेका थिए । उनीहरूलाई उद्धार गर्न प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएको थियो । उद्धारपछि तीनै जनालाई बाहिर निकाल्दा उनीहरूको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ ।

प्रारम्भिक अनुमानअनुसार सेप्टिक ट्याङ्कीभित्र विषालु ग्यासका कारण उनीहरूको ज्यान गएको हुन सक्ने देखिएको छ । यद्यपि घटनाको वास्तविक कारण खुलाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्