दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सोमबार सामूहिक रूपमा राजीनामा दिएका छन्। नेपाली कांग्रेस संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन्।
राजीनामा दिने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।
केन्द्रीय राजनीतिक समीकरण परिवर्तन भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको हो। सोही निर्णयअनुसार कांग्रेसका मन्त्रीहरूले पदबाट राजीनामा दिएका हुन्। कांग्रेसको बहिर्गमनसँगै लुम्बिनी प्रदेश सरकारको सत्ता समीकरण फेरिएको छ। अब नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
नयाँ सरकार गठनका लागि मन्त्रीहरूको चयन, मन्त्रालयको बाँडफाँट तथा साझा कार्यदिशाबारे एमाले र नेकपाका शीर्ष नेताबीच छलफल भइरहेको बताइएको छ।
कांग्रेसले समर्थन फिर्ता लिएसँगै लुम्बिनी प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ भने आगामी केही दिनभित्र नयाँ मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको छ।






















