Spread the love

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखन संगठित अपराध तथा अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिएको गम्भीर अपराध भएको भन्दै यसको नियन्त्रणका लागि सबै पक्षबीच एकीकृत र प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस–२०२६ को अवसरमा मंगलबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रममा आईजीपी कार्कीले सुरक्षा निकाय, न्याय प्रणाली, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार तथा आम नागरिकबीच सचेतना, सूचना आदानप्रदान, उद्धार, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल प्रहरीको आयोजना तथा माइती नेपालको सहकार्यमा ‘ट्रयाप बिह्याड द स्क्याम’ नारासहित आयोजित कार्यक्रममा आईजीपी कार्कीले वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई मानव बेचबिखनविरुद्धको राष्ट्रिय सचेतना अभियानका ‘एन्टी ह्युमन ट्राफिकिङ अवेयरनेस एम्बासडर’का रूपमा योगदान पु¥याएको भन्दै कदरपत्र प्रदान गरे ।

उनले मानव बेचबिखनलाई परम्परागत दृष्टिकोणबाट मात्र नभई साइबर अपराध, आर्थिक अपराध तथा अन्तर्राष्ट्रिय संगठित अपराधसँग जोडेर हेर्नुपर्ने आवश्यकता औंल्याए। पछिल्ला वर्षहरूमा मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै अनलाइन ठगी, साइबर स्क्याम तथा कानुनी कागजातको दुरुपयोगजस्ता नयाँ चुनौती थपिएको उनले बताए । आईजीपी कार्कीका अनुसार नेपाल प्रहरीले समयअनुकूल कार्यशैली परिमार्जन गर्दै सूचना संकलन प्रणाली विस्तार, सीमा क्षेत्रमा निगरानी वृद्धि, जोखिममा रहेका यात्रुको प्रोफाइलिङ तथा वैदेशिक रोजगारी र शैक्षिक परामर्शको आवरणमा हुने मानव तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

कार्यक्रममा माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्का, नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायव महानिरीक्षक दिपककुमार बस्नेत तथा वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि मानव बेचबिखन नियन्त्रणमा राज्य, समाज र नागरिकको साझा जिम्मेवारीबारे धारणा राखेका थिए । मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नकुल पोखरेलले मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था, चुनौती र समाधानका उपायबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नेपाल प्रहरी र माइती नेपालले तयार पारेका जनचेतनामूलक श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन गरिएको थियो ।

अन्तरक्रियामा डिजिटल तथा अनलाइन माध्यमबाट हुने मानव बेचबिखनका जोखिम, सुरक्षित वैदेशिक रोजगारी, पीडित संरक्षण, अन्तर्राष्ट्रिय समन्वय, डिजिटल सुरक्षा तथा मानव बेचबिखन न्यूनीकरणका उपायबारे विस्तृत छलफल भएको थियो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्