Spread the love

बुटवल, १२ साउन ।
लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको अवस्था बढ्दो क्रममा रहेको देखिएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कले दुर्घटनाको संख्या र मानवीय क्षति उच्च रहँदै आएको देखाएको हो । आर्थिक वर्ष २०८२/८३ मा मात्र प्रदेशभर ४ हजार ७९७ वटा सवारी दुर्घटना हुँदा ५८५ जनाले ज्यान गुमाएका छन् भने १ हजार ७९९ जना गम्भीर र ६ हजार २५९ जना सामान्य घाइते भएका छन् ।

नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले मंगलबार पत्रकार सम्मेलनमार्फत पेश गरेको वार्षिक प्रगति विवरणअनुसार दुर्घटनाको संख्या अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ४७९ दुर्घटना भएकोमा गत वर्ष १ हजार ३१८ दुर्घटना थपिएका छन् । मृत्यु हुनेको संख्या पनि ५०६ बाट बढेर ५८५ पुगेको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले गत वर्ष भएका कुल दुर्घटनामध्ये ६८.७ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको बताए । त्यसैगरि मादक पदार्थ सेवन (मापसे) का कारण ६१३, चालकको लापरवाही वा असक्षमताका कारण ५३५, यान्त्रिक गडबडीका कारण ५३, जनावरका कारण २३ तथा यात्रु र पैदलयात्रीको गल्तीका कारण ३७ दुर्घटना भएका छन् । प्रदेशभर गतवर्ष दुर्घटनामा संलग्न ६ हजार ८२२ सवारी साधनमध्ये ४ हजार २८६ वटा मोटरसाइकल तथा स्कुटर रहेका छन्, जुन ६२.८२ प्रतिशत हो। त्यसपछि जिप तथा कार ६६६, टेम्पो ५०९, शारीरिक शक्तिले चल्ने सवारी ४९५, बस २१० तथा ट्रक÷ट्र्याक्टर २०४ वटा दुर्घटनामा परेका छन् ।

हाल लुम्बिनी प्रदेशमा दर्ता भएका १७ लाख ५ हजार ४९ सवारीमध्ये १४ लाख ६३ हजारभन्दा बढी मोटरसाइकल तथा स्कुटर छन् । यसले प्रदेशमा निजी दुईपांग्रे सवारीको अत्यधिक प्रयोग र त्यससँगै दुर्घटनाको जोखिम पनि उच्च रहेको देखाउँछ । दुर्घटना न्यूनीकरणका लागि वर्षभर १० हजार ६६२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममार्फत ५ लाख ५ हजारभन्दा बढी नागरिकलाई सडक सुरक्षा सम्बन्धी प्रशिक्षण तथा सचेतना प्रदान गरिएको छ ।

चालक, सहचालक र विद्यार्थीलाई लक्षित कार्यक्रमलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ । यसैगरि प्रदेशभर ५३ स्थानलाई दुर्घटना जोखिम क्षेत्र (ब्ल्याक स्पट) का रूपमा पहिचान गरी १३० वटा ट्राफिक संकेत उपकरण जडान गरिएको छ । साथै बाँकेका मुख्य चोकमा ट्राफिक लाइट मर्मत तथा सञ्चालनमा ल्याइएको छ ।

भिडियो रिर्पोट

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्