Spread the love

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मंगलबार विराटनगर पुगेकी छन् । घटनालगत्तै उपचार व्यवस्थापनमा सक्रिय रहेको स्वास्थ्य मन्त्रालयका तर्फबाट मन्त्री मेहताले स्वयं अस्पताल पुगेर घाइतेसँग भेटघाट गर्नुका साथै उपचार अवस्थाबारे जानकारी लिएकी हुन् ।

मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल, विराट नर्सिङ होम र न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग विस्तृत जानकारी लिएकी थिइन् । उनले उपचारमा कुनै पनि प्रकारको कमी हुन नदिन अस्पताल प्रशासनलाई आवश्यक निर्देशनसमेत दिएकी छन् । घाइते तथा उनीहरूका परिवारसँगको भेटमा मन्त्री मेहताले सरकारले पीडितहरूको उपचार र सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताउँदै आवश्यक सबै सहयोग र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

गम्भीर घाइतेहरूको उपचारमा मन्त्रालयले प्रत्यक्ष समन्वय गरिरहेको पनि उनले जानकारी दिइन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ सम्बन्धित अस्पताल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै घाइतेहरूको उपचार प्रभावकारी बनाउन आवश्यक पहल भइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्