बुटवल, १२ साउन ।
स्थानिय तहका बाल कल्याण अधिकारीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ दुई दिने कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशसँगको समन्वय तथा पिस नेपालको आयोजनामा बाल कल्याण अधिकारीहरूका लागि सञ्चालित दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो । तालिममा बाल कल्याण अधिकारीहरूको भूमिका, जिम्मेवारी तथा बाल अधिकारका विविध विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिमपश्चात् सहभागीहरूले बाल अधिकार रक्षाका लागि स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिका तथा आफूहरूले हालसम्म गरेका कामको समीक्षा र वस्तुस्थिति बुझ्न मद्दत पुगेको बताएका छन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय, लुम्बिनीका महाशाखा प्रमुख सम्झना सुवेदीले बाल अधिकार संरक्षणका साथै बालविवाह अन्त्य गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिइन् । मन्त्रालय बालमैत्री स्थानीय तह घोषणाको होडबाजीमा भन्दा पनि गुणस्तरीय र प्रभावकारी रूपमा बालबालिकाको हित सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले बाल कल्याण अधिकारीहरूलाई बालबालिकाका मुद्दामा केन्द्रित भएर काम गर्न आग्रह गरिन् ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले बालबालिकाको आवाज सुनुवाइका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए । कतिपय पालिकामा बाल अधिकारसम्बन्धी काम अझै प्रभावकारी हुन नसकेको र घोषणापछिको अनुगमन पक्ष जटिल रहेको अनुभव सुनाउँदै उनले बालमैत्री सूचकहरूलाई पूर्ण पालना गरेर काम गरेमा मात्र बालबालिकाप्रति न्याय हुने धारणा राखे । उनले यस्ता कार्यमा सहजीकरण गर्न जिल्ला समन्वय समिति तयार रहेको प्रतिबद्धता समेत जनाए ।
पिस नेपालका कार्यकारी निर्देशक मणिप्रसाद गैरेले सुनवल नगरपालिकालाई पहिलो बालमैत्री पालिका घोषणा गरिएको दृष्टान्त दिँदै सोही अनुरूप काम गर्न इच्छुक अन्य पालिकाहरूलाई संस्थाले सहजीकरण गरिरहेको बताए । केही पालिकाले प्रदेश सरकारको सहकार्यमा योजना अघि बढाएको र केहीले कार्ययोजना निर्माण गरिसकेको उनले जानकारी दिए ।
लुम्बिनी बाल क्लब सञ्जालकी अध्यक्ष महिमा खनालले बालबालिका भोलिका कर्णधार मात्र नभई आजका साझेदार पनि हुन भन्ने सोचका साथ काम गर्नुपर्नेमा जोड दिइन् । बालबालिकाका अधिकारका विषयमा नजिकबाट बोलिदिने दायित्व बाल कल्याण अधिकारीहरूकै भएकाले उनीहरूको नियमित क्षमता विकास आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरुको तर्फबाट पूजा परियार, शिव ज्ञवाली, बालमैत्री अभियानका अभियन्ता चिरञ्जीवी ज्ञवालीले तालिमको प्रभावकारिता र आ–आफ्नो पालिकामा पुगेर गरिने भावी कार्ययोजनाका विषयमा धारणा राखेका थिए । कार्यक्रममा गुल्मी, पाल्पा र रुपन्देहीका २३ स्थानीय तहका बाल कल्याण अधिकारीहरूको सहभागिता रहेको थियो ।






















