दाङ । लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले पाँच मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेका छन । प्रदेश सरकारमा सहभागी कांग्रेसका पाँच मन्त्रीले मंगलबार सामूहिक रूपमा राजीनामा दिएपछि मुख्यमन्त्री आचार्यबाट प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७९ को नियम ४ को उपनियम (२) बमोजिम मन्त्रालयहरूको कार्यभार पुनः हेरफेर गर्दै नयाँ कार्यविभाजन भएको हो ।
नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै आर्थिक मामिला तथा योजना मन्त्रालय, शहरी विकास तथा खानेपानी मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ । यसअघि शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले मन्त्री पदबाट सामूहिक राजीनामा दिएका थिए ।
केन्द्रीय राजनीतिक समीकरण परिवर्तनसँगै नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्रीहरूले पदबाट राजीनामा दिएका हुन् । कांग्रेस सरकारबाट बाहिरिएसँगै अब लुम्बिनी प्रदेशमा नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त सरकार गठन हुने तयारी भइरहेको छ । नयाँ मन्त्रिपरिषद् गठन, मन्त्रालय बाँडफाँट तथा मन्त्री नियुक्तिको प्रक्रिया छिट्टै अघि बढ्ने बताइएको छ ।






















