बुटवल, ११ साउन ।
वेस्टर्न मेगा कलेजले एमबीए तहमा अध्ययनरत विद्यार्थीहरूका लागि अनुसन्धान लेखन र शोधपत्र शीर्षक छनोटसम्बन्धी दुई दिने विशेष कार्यशाला सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई अनुसन्धानमूलक लेख लेखन तथा शोधपत्रका लागि उपयुक्त, सान्दर्भिक र बजारमुखी विषय छनोट गर्ने सीप प्रदान गर्ने उदेश्यका साथ एमबीए विभागको आयोजनामा ‘अनुसन्धान लेख लेखन र शोध–प्रबन्धको विषय छनोट’ विषयक कार्यशाला गरिएको हो ।
साउन ९ र १० गते सञ्चालन भएको कार्यशालामा एमबीए ३६, ३७ र ३८ औं ब्याचका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा प्रमुख प्रशिक्षक तथा एमबीए कार्यक्रम संयोजक गोपाल खनालले बताए । अनुसन्धान लेखको महत्व, संरचना, लेखन प्रक्रिया तथा गुणस्तरीय शोधपत्रका लागि प्रभावकारी शीर्षक छनोट गर्ने विधिबारे व्यावहारिक र प्रयोगात्मक प्रशिक्षण दिईएको उनले बताए । गुणस्तरीय अनुसन्धानले विद्यार्थीको शैक्षिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै अनुसन्धान संस्कृतिको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
कार्यक्रममा कलेजका प्राचार्य तथा अधिवक्ता किसु शर्माले आधुनिक शिक्षाबाट सैद्धान्तिक ज्ञानसँगै अनुसन्धान क्षमता, विश्लेषणात्मक सोच र व्यावसायिक दक्षतालाई समान रूपमा प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताए । विद्यार्थीको बौद्धिक विकास र रोजगारमुखी सीप अभिवृद्धिका लागि यस्ता नवप्रवर्तनात्मक तथा प्रयोगात्मक कार्यक्रमलाई कलेजबाट प्राथमिकता दिएको समेत उनले बताए । कलेजमा स्नातक तहमा चारवर्षे बिआईटी र बिएचएम तथा स्नातकोत्तर तहमा दुईवर्षे एमबिए कार्यक्रम सञ्चालनमा रहेका छन् ।





















