काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयले यस्ता घटनाप्रति सरकारले ’शून्य सहनशीलता’को नीति अवलम्बन गरेको दोहो¥याउँदै स्वास्थ्यकर्मीलाई निर्भय भएर सेवा प्रवाह जारी राख्न आग्रह गरेको छ ।
सोमबार जारी प्रेस विज्ञप्तिमार्फत मन्त्रालयले उपचारका क्रममा ज्यान गुमाएका बिरामीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका अनुसार उपचारका क्रममा कुनै अप्रिय घटना भए त्यसको छानबिन र सत्यतथ्य पत्ता लगाउन प्रचलित कानुनी व्यवस्था विद्यमान रहेकाले कानून हातमा लिएर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन ।
विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीले निर्भय, सुरक्षित र उच्च मनोबलका साथ सेवा दिन पाउने वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गरिएको छ । मन्त्रालयले अस्पताल प्रशासन, स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।




















