काठमाडौं,११ साउन ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको घटनालाई लिएर घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर घिमिरेको ठाउँमा संखुवासभाका सिडिओ ईश्वरीप्रसाद अर्याललाई पठाइएको गृहमन्त्री सुधन गुरूङको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएकोे छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ । थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ ।





















