बुटवल, १० साउन ।
बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने पर्यटकको बसाई लम्ब्याउने गरि विशेष पर्यटन प्याकेज सार्वजनिक गरिएको छ । नेपाल ट्राभल तथा टुर अपरेटर समाज (सोटो–नेपाल) लुम्बिनी प्रदेशले आईतबारदेखी पर्यटन प्याकेज घोषणा गरेको हो ।
बुटवलबाट सिद्धार्थ केबल कार र नुवाकोट होटलको सहकार्यमा टिकट तथा दुई दिनको प्याकेज तयार गरिएको अध्यक्ष सन्जय बजिमयले बताए । यो प्याकेजमा बुटवल केवलकार हुदै नुवाकोट–पाल्पा हिल स्टेसनमा एक रात र दुई दिनको बसाइ (सम्पूर्ण खानासहित) उपलब्ध हुने उनले बताए । प्याकेज नेपालीहरूका लागि २,९९९ रुपैयाँ र भारतीय परिवार वा समूहका लागि १,९९९ भारु प्रति ब्यक्ति शुल्क तोकिएको छ ।
सबै दृष्टिकोणबाट उपयुक्त देखिएको हुदा नुवाकोट छनौट गरिएको उनले बताए । सो क्षेत्रका हस्पिटालिटीहरुलाई तालिम र पर्यटनमैत्री सेवाका लागि तालिमहरु समेत दिने तयारीमा रहेको उनले बताए । ‘पर्यटनको प्रवद्र्धन, समृद्ध प्रदेशको निमार्ण’ लक्ष्यसहित स्थापना भएको नेपाल ट्राभल तथा टुर अपरेटर समाज (सोटो–नेपाल) लुम्बिनी प्रदेशले लुम्बिनी विकास कोष (एलडीटी), नेपाल पर्यटन बोर्ड (एनटीबी), स्थानीय तह तथा प्रदेश सरकारसँग संयुक्त सहकार्य र साझेदारीमा पर्यटन प्रवद्र्धनका नया तथा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
लुम्बिनी प्रदेशमा गुणस्तरीय आन्तरिक तथा बाह्य पर्यटकहरू भित्राउन र सम्पर्क सञ्जाल विस्तार गर्न सरोकारवाला निकायहरु बिचमा संयुक्त सहकार्य अघि बढाइएको छ । यसअन्तर्गत भिजिट लुम्बिनी २०२७ अभियानको लक्ष्यसहित सन् २०२६÷२०२७ का लागि कुल २७ वटा प्रमुख कार्ययोजनाहरू संस्थाको योजना बैठकबाट तय गरिएको सचिव मनिष तामाङले बताए । होटल, होमस्टे, यातायात, टुर अपरेटर, एयरलायन्स लगायत पर्यटन र पर्यटन सेवा दिने ४८ जना संस्थामा सदस्यहरु आवद्ध छन ।






















