देवदह, ९ साउन ।
रुपन्देहीको देवदहस्थित गौतम बुद्ध राष्ट्रिय उद्यान परिसरमा संयुक्त वृक्षारोपण तथा संरक्षण कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ तिलोत्तमा–रुपन्देही, रोटयाक्ट क्लब अफ तिलोत्तमा–देवदह, रोटयाक्ट क्लब अफ तिलोत्तमा–रुपन्देही तथा रोटयाक्ट क्लब अफ तिलोत्तमा–शुद्धोधनको संयुक्त आयोजनामा ‘रोटरी ट्री प्लान्टेसन प्रोग्राम–२०२६’ अन्तर्गत शनिबार कार्यक्रम गरिएको हो ।
कार्यक्रममा रोटयाक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीका अध्यक्ष श्रीधर के.सी., रोटरी क्लब अफ तिलोत्तमा–रुपन्देहीका अध्यक्ष देवीलाल भट्टराई, रोटयाक्ट क्लब अफ तिलोत्तमा–देवदहका अध्यक्ष कमल थापा तथा रोटयाक्ट क्लब अफ तिलोत्तमा–शुद्धोधनका अध्यक्ष सुबोध डुम्रेसहितको संयुक्त बैठकबाट वृक्षारोपण गरिएको बिरुवाको संरक्षण, हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका विषयमा योजना तयार गरिएको थियो ।
रोटरीको मूल आदर्श ‘स्वार्थभन्दा माथि सेवा’ लाई आत्मसात गर्दै वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र दिगो भविष्य निर्माणका लागि संस्थागत सहकार्य अघि बढाउने रोटयाक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीका अध्यक्ष श्रीधर के.सी.ले बताए । उद्यान परिसरमा लगाईएको विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरिएको उनको दाबी छ ।
कार्यक्रममा विभिन्न रोटरी तथा रोटयाक्ट क्लबका पदाधिकारी, सदस्य, डिभिजन वन कार्यालयका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा जी.भी.ए. नर्सरी, डिभिजन वन कार्यालयबाट सहयोग भएको थियो ।





















