बुटवल, ४ साउन ।
श्रावणी मेला शुभारम्भ भएको पहिलो सोमबार नयाँगाउँस्थित मुक्तिनाथधाम मन्दिरमा हुने दर्शनार्थीहरुको ब्यवस्थापनमा वेस्टर्न मेगा कलेजका विद्यार्थीहरूले सहयोग गरेका छन ।
कलेजका दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले मन्दिर परिसरमा सरसफाइ तथा तीर्थयात्री सेवा गरेका हुन । साउन महिनाभर शिव मन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ । विद्यार्थीलाई पुस्तकमा सीमित ज्ञानभन्दा बाहिर सामाजिक उत्तरदायित्व र व्यवहारिक अनुभव दिलाउने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले बताए । उनले साउन महिनाभर विभिन्न धार्मिक स्थलमा सरसफाइ अभियान सञ्चालन गरिने बताए ।
सिद्धबाबा मन्दिर (पाल्पा दोभान), पर्रोहा परमोश्वर बोलबमधाम, श्री सिद्धेश्वरनाथ शिव मन्दिर, दुर्गा–शिव मन्दिर, मोक्षधाम तथा बसडिलवा शिव मन्दिर परिसरमा पनि सरसफाइ कार्यक्रमको कार्यक्रम रहेको उनले बताए । कार्यक्रममा कलेजका शिक्षक तथा कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो । वेस्टर्न मेगा कलेजमा स्नातक तहमा चारवर्षे बिआईटी र बिएचएम तथा स्नातकोत्तर तहमा दुईवर्षे एमबिए कार्यक्रम सञ्चालनमा रहेका छन् ।






















