नयाँ दिल्ली ।
भारतीय संसद्को मनसुन सत्र सुरु भएकै दिन नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको भनिएको अनियमितता तथा मेडिकल प्रवेश परीक्षा (नीट) सम्बन्धी विवादको विरोधमा प्रदर्शन भएको छ । युवा नेतृत्वको ‘ककरोच जनता पार्टी’द्धारा चलाईएको ‘चलो संसद्’ अभियानका प्रदर्शनका क्रममा संसद् भवनतर्फ अघि बढ्न खोज्ने प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको दाबी गरिए पनि दिल्ली प्रहरीले व्यापक झडप भएको आरोप अस्वीकार गरेको बताइएको छ । जन्तर मन्तर र संसद् भवन आसपास निषेधाज्ञा लागू गरिएको तथा सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ । केही मेट्रो स्टेसनका निकाससमेत बन्द गरिएकाले मध्य दिल्लीको यातायात प्रभावित भएको समाचारमा उल्लेख छ ।
यसैबीच, आन्दोलनसँग सम्बन्धित केही व्यक्तिलाई हिरासतमा लिइएको र प्रदर्शनका क्रममा दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको दाबी गरिएको छ । आन्दोलनसँग जोडिएका सामाजिक अभियन्ता सोनम वाङ्चुकको स्वास्थ्य अवस्थाबारे पनि विभिन्न सञ्चारमाध्यममा फरक–फरक विवरण सार्वजनिक भएका छन् ।
प्रदर्शन दिल्लीमा मात्र सीमित नरही अन्य केही भारतीय सहरहरूमा समेत विरोध कार्यक्रम भएको दाबी गरिएको छ । आन्दोलनकारीहरूले शिक्षा प्रणालीमा पारदर्शिता, निष्पक्ष परीक्षा प्रणाली र उत्तरदायित्वको माग गरेका छन् ।





















