काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिनको खेलमा चितवन राइनोज र कर्णाली याक्सले विजयी सुरुवात गरेका छन् । मंगलबार भएका खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले तथा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेका हुन् ।
एनपीएलको दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा समेटियो । विराटनगरका इमरान शेखले ३९, आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । चितवनको जितमा कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । रिजन ढकालले दुई विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका लागि डाविड मलानले सर्वाधिक ७० रन बनाए। ५० बलको सामना गरेका उनले पाँच चौका र पाँच छक्का प्रहार गरे। कप्तान रवि बोपाराले ३२ तथा डान मुस्लेले २९ रनको योगदान दिए । विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असलंका र आन्द्रे रसेलले समान एक विकेट लिए ।
अर्को खेलमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा अलआउट भयो । जनकपुरले अन्तिम ६ विकेट मात्र १९ रन जोड्दा गुमाएपछि जितको अवसर गुमाएको हो । कर्णालीको जितमा युनिस विक्रमसिंह ठकुरी र पाकिस्तानी खेलाडी हुसैन तलातले समान तीन विकेट लिए । नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले एक विकेट लिए । जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। उनले १७ बलमा दुई छक्का प्रहार गरे । युनिसले १४औँ ओभरमा जनकपुरका कप्तान हरमितलाई कट एन्ड बोल्ड गर्दै महत्त्वपूर्ण सफलता दिलाएका थिए । त्यसपछि १६औँ ओभरमा उनले लगातार बलमा जिम्मी निसम र आदित्य महतालाई आउट गरेपछि खेल कर्णालीको पक्षमा मोडिएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा चार छक्का प्रहार गरे । पवन सर्राफले ३७ बलमा तीन छक्कासहित ३७ रन जोडे। जनकपुरका कप्तान हरमित सिंहले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए । मोइन अली र राहुल यादवले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए ।





















