काठमाडौं, ३० असार ।
लगातारको वर्षाका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरूमा पहिरो र बाढीले यातायात प्रभावित बनेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले सोमबार बिहान ८ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एकतर्फी सञ्चालन तथा केही सडक पूर्ण रूपमा सञ्चालनमा रहेका छन् ।
बागमती प्रदेश
काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको हेटौंडा–टिस्टुङ–बागमती–ललितपुर (कान्तिलोकपथ) सडक खण्ड अर्को आदेश नभएसम्म बन्द गरिएको छ। भीमफेदी गाउँपालिका–५ भैराङडाँडा तथा इन्द्रसरोवर गाउँपालिका–२ मा पहिरोका कारण कान्तिलोकपथ र फाखेल–कुलेखानी सडक पूर्ण रूपमा अवरुद्ध छन् । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा र भालुखोलामा पहिरो खसेपछि कान्तिलोकपथ सडक खण्ड पनि पूर्ण रूपमा बन्द रहेको छ । सिन्धुपाल्चोकको कोदारीस्थित अरनिको राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेको छ ।
कोशी प्रदेश
भोजपुरको मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ। इलामको मेची राजमार्ग, पाँचथरको मध्यपहाडी लोकमार्ग र उदयपुरको सिद्धिचरण लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छन् । ओखलढुंगाको सिद्धिचरण लोकमार्ग र खोटाङको मध्यपहाडी लोकमार्ग भने पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।
गण्डकी प्रदेश
कास्कीको मादी गाउँपालिका–२ ज्याम्दी (रानीपौवा–सिक्लेस सडक) र मादी गाउँपालिका–४ भैँसे क्षेत्रमा पहिरो खस्दा पोखरा–ताङतिङ–सिक्लेस सडक तथा मध्यपहाडी लोकमार्ग अन्तर्गत भैँसे–इदी जाने सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । अन्नपूर्ण गाउँपालिका–८ सार्दीखोलामा अविरल वर्षापछि नयाँपुल–घान्द्रुक सडक एकतर्फी सञ्चालनमा रहेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ सुनखोलामा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। स्याङ्जाको बेनी–दरबाङ भित्री सडक पनि बन्द रहेको छ भने म्याग्दीको बेनी–जोमसोम सडक पुनः पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश
अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ दुधेखोलामा पहिरोका कारण सालझण्डी–ढोरपाटन सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ । गुल्मीको मदन भण्डारी राजमार्ग अन्तर्गत छत्रकोट गाउँपालिका–३ कोजोले तथा कालीगण्डकी करिडोर अन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक एकतर्फी सञ्चालनमा छ । तर कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाट क्षेत्रमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ ।
कर्णाली प्रदेश
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बिसौनीस्थित कर्णाली करिडोर तथा कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कर्णाली राजमार्गमा पहिरो पन्छाइएपछि दुवै सडक पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।


















