बुटवल,१८ असार ।
पत्रकार महिलाको लागि आयोजना गरिएको दुईदिने अभिमुखिकरण तालिम १३ बुदे लुम्बिनी घोषणापत्र २०८३ जारी गर्दै सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना र सञ्चारिका समूह लुम्बिनीको समन्वयनमा लैगिक हिंसाविरुद्धको प्रभावकारी अभियान सचालनका गर्ने उदेश्यले सञ्चालित अभिमुखिकरण तालिम संचालन गरिएको हो ।
घोषणपत्र मार्फत सञ्चार क्षेत्रलाई लैगिंक रुपमा समावेशी, सुरक्षित र समान अवसर बनाउन माग गरिएको छ । भेलाले सञ्चारगृहमा पत्रकार, व्यवस्थापक तथा प्राविधिक तहमा महिलाहरुको समान अवसर र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । सञ्चारकर्मी महिलाका लागि कानुन बमोजिम ९८ दिन सुत्केरी बिदा पूर्णरुपमा कार्यान्वयन, प्रत्येक सञ्चारगृहमा लैगिक नीति कार्यन्वयन तथा पत्रकार महिलाहरुलाई निर्णायक तहमा पुग्ने वातावरण सिर्जना गर्नुपर्ने घोषणपत्रमा उल्लेख छ ।
पत्रकार महिलाको व्यवसायिक दक्षता अभिवृद्धिका लागि नियमित तालिम, नेतृत्व विकास कार्यक्रम तथा क्षमता अभिवृद्धिका अवसरको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । भेलाले पत्रकार महिलाको अधिकार, सम्मान र सुरक्षाको प्रत्याभूति नभएसम्म अभियान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
दुई दिनसम्म सञ्चालित अभिमुखिकरण तालिमा लैगिक हिसां, सञ्चारमा लैगिक संवेदनशीलता, सुरक्षित कार्यस्थल, कानुनी व्यवस्था तथा पत्रकार महिलाहरुको व्यवसायिक अधिकारका बिषयमा छलफल गरिएको थियो । घोषणपत्र तयारी समितिमा संयोजक पार्वती पाण्डे, कल्पना तिवारी, रुपा गहतराज रहेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक पूर्वमन्त्रि भगवती अधिकारी घिमिरे, रुपन्देहीका प्रहरी नायब महानिरीक्षक भूपेन्द्र खत्री, सञ्चारिका समूहका केन्द्रिय अध्यक्ष कमला पन्थी, समूहका केन्द्रिय उपाध्यक्ष वसन्ती बास्तोला, सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोल, सामाजिक विकास मन्त्रालयका प्रशासन शाखा अधिकृत खिम बहादुर अधिकारी लगायतले पत्रकार महिलाको लंैगिक समानता, सुरक्षित कार्य स्थल, व्यावसायिक सम्मान तथा नेतृत्वमा महिलाको पहुँच विस्तारका लागि सरकारी निकाय, सञ्चारगृह र सम्बन्धि सरोकारवालाबाट घोषणापत्रमा समेटिएका मागहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
दुई दिनसम्म चलेको कार्यक्रममा १० जिल्लाका ३ दर्जन बढी पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।




















