बुटवल,१९ असार ।
नेपाल डेरी एसोसिएसनले मुलुकको डेरी उद्योग गम्भीर संकटमा परेको भन्दै उत्पादन लागत घटाउने, किसानलाई प्रोत्साहन गर्ने तथा डेरी उद्योगलाई संरक्षण गर्ने प्रभावकारी नीति तत्काल लागू गर्न सरकारसँग माग गरेको छ ।शुक्रबार रुपन्देहीमा बसेको नेपाल डेरी एसोसिएसन केन्द्रिय कार्यसमितिको बैठकबाट भएका निर्माण सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा एसोसियनका सचिव शिवहरि आचार्यले डेरी उद्योग उच्च उत्पादन लागत, बजारको अस्वस्थ प्रतिस्पर्धा, आयातित दुग्धजन्य पदार्थको दबाब तथा नीतिगत अस्थिरताका कारण समस्यामा परेको उल्लेख गरिएको छ ।
सरकारले प्रभावकारी हस्तक्षेप नगरे उद्योग र दुग्ध उत्पादक किसान दुवै थप मारमा पर्ने एसोसिएसनको चेतावनी छ । एसोसिएसनका अनुसार सरकारले उत्पादन लागत घटाउने नीति अवलम्बन गर्ने, पशुपालक किसानलाई प्रोत्साहन दिने, आयातित दुग्धजन्य बस्तुमा आवश्यक नियन्त्रण गर्ने, विद्युत महसुलमा सहुलियत उपलब्ध गराउने, उद्योगका मेसिन तथा उपकरणमा भन्सार छुट दिने, निर्यात प्रवद्र्धन गर्ने र उद्योगमैत्री नीति तथा कानुन लागू गर्न आवश्यक छ ।
विज्ञप्तिमा डेरी क्षेत्रलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन दर्ता प्रणालीलाई एकीकृत गर्ने, वितरण प्रणालीलाई पारदर्शी बनाउने तथा उद्योगमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा पनि जोड दिइएको छ । यस्ता सुधार कार्यान्वयन भएमा नेपालको डेरी क्षेत्रले आन्तरिक माग पूरा गर्नुका साथै निर्यातमुखी उद्योगका रूपमा विकास हुने विश्वास एसोसिएसनले व्यक्त गरेको छ ।
एसोसिएसनले दुग्ध क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा हेर्न सरकारसँग आग्रह गर्दै किसान, उद्योगी, सहकारी, उपभोक्ता र सरोकारवाला निकायबीच समन्वय र सहकार्यबाट मात्रै डेरी क्षेत्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी र दिगो बनाउन सकिने उल्लेख गरेको छ।
नेपालमा साना मझौला तथा ठूला तथा घरेलु गरी करिब ६ हजारको हारहारीमा डेरी व्यवसाय सञ्चालनमा छन् । त्यसमध्य करिव चारसय बटा उघोगका रुपमा दर्ता भई लेबलिङ , प्याकेजिङ गर्ने गरि सञ्चालनमा रहेका छन् । हाल नेपालमा दैनिक करिब ७६ लाख लिटर दुग्ध उत्पादन हुने अनुमान गरिएको छ ।
त्यस मध्य करिब ३८ लाख लिटर दूध मात्र बजारमा आउने गरेको छ । बजारमा आउने दुग्धमध्ये जम्मा १७ प्रतिशत मात्र औपचारिक क्षेत्रबाट लेबलिङ र प्याकेजिङ सहित बिक्री हुने र ठूलो हिसा अझै पनि खुला तथा अनौपचारिक रुपमा कारोबार हुने गरेको छ । नेपालमा अझै पनि ६ लाख किसान किसानले जिविकोपार्जका लागि दुग्ध व्यवसायमा निर्भर रहेका छन् ।
हाल नेपालमा दैनिक करिब ७६ लाख दुग्ध उत्पादन हुने अनुमान गरेको छ । यसैबीच, नेपाल डेरी एसोसिएसनको कार्यसमिति बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले आगामी वर्षका लागि स्पष्ट रणनीतिक योजना तयार गर्ने, सदस्य विस्तार गर्ने, डेरी उद्योगको गुणस्तर अभिवृद्धि, प्रविधि हस्तान्तरण तथा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल सल्लाहकार समितिका हिरा बहादुर केसी, मेघराज भण्डारी, उपाध्यक्ष दीपप्रसाद धमला, मनोज यादव, मनोज घिमिरे, लु प्र अध्यक्ष थानेश्वर न्यौपाने, बागमती टिकाप्रसाद घिमिरे, कर्णाली प्रेम बिसि, महासचिव हेमचन्द्र खनालले सरकारले सहुलियत तथा सरकारी सुविधा कसनै एक क्षेत्रलाई मात्र सिमित नगरी उत्पादन , गुणस्तर र लागानी योगदानका आधारमा सबै डेरी उघोगलाई समान रुपमा उपलब्ध गराउनु पर्ने बताएका थिए ।
भिडियो रिर्पोट






















