काठमाडौं, १७ असार ।
लगातारको वर्षापछि आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानका ९ वटा मुख्य राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा बन्द र केहीमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको जनाएको छ ।
प्रहरीका अनुसार बागमती प्रदेश सबैभन्दा बढी प्रभावित बनेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–१ महभीरस्थित अरनिको राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ महालक्ष्मी क्षेत्रमा कुलखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडकखण्ड सडक मर्मतका कारण पूर्ण रूपमा बन्द रहेको छ । उक्त सडक मर्मत सम्पन्न नहुँदासम्म असार २५ गतेसम्म बन्द रहने जनाइएको छ ।
यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल मर्मत–सम्भारका कारण पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ । यो मार्ग असार १९ गतेसम्म सञ्चालनमा नआउने उल्लेख गरिएको छ ।
कोशी प्रदेशमा भोजपुर, इलाम र तेह्रथुमका तीन स्थानमा सडक अवरोध भए पनि तीनवटै सडकमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। भोजपुरको मध्यपहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको हो भने इलामको मेची राजमार्ग र तेह्रथुमको मध्यपहाडी लोकमार्ग पहिरोका कारण अवरुद्ध भएका थिए ।
बागमती प्रदेशकै काभ्रेपलाञ्चोकको बीपी राजमार्गमा बाढीको जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ। काभ्रेको रोशी गाउँपालिका–११ स्थित ब्याकुरे खोलामा रहेको बीपी राजमार्गमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।
त्यसैगरी, लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लामा पाणिनी गाउँपालिका–३ डुङ्गेखोला, सालझण्डी–ढोरपाटन सडकखण्डमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले वर्षायाममा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न, वैकल्पिक मार्ग प्रयोग गर्न तथा सम्बन्धित निकायको सूचनालाई पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।






















