दाङ (लमही), १७ असार ।
नेपाली कांग्रेसभित्र इतर पक्षका रूपमा रहेको निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले सातै प्रदेशस्तरीय भेलाको अन्तिम कार्यक्रम मंगलबार लुम्बिनी प्रदेशको लमहीमा सम्पन्न गरेको छ । पार्टीभित्रको एकता कायम गर्ने, विशेष महाधिवेशनपछि निराश बनेका नेता–कार्यकर्तालाई मूल प्रवाहमा ल्याउने र समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गर्ने उद्देश्यसहित आयोजित भेलामा पार्टी फुटाउनेभन्दा कांग्रेसभित्रै संघर्ष गर्नुपर्नेमा जोड दिइएको छ ।
भेलामा कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले आफू क्रियाशील सदस्यता अद्यावधिक गरेर पार्टीभित्रै राजनीतिक संघर्ष गर्ने स्पष्ट पार्दै नयाँ पार्टी गठनको पक्षमा नरहेको बताए । आफु सदस्यता अद्यावधिक गरेर कांग्रेसभित्र नै लड्छु तर अर्को पार्टी बनाउनतिर नलाग्ने दाबी गरे । उनले कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दै कांग्रेसलाई विभाजन गरेर लोकतन्त्र बलियो नहुने धारणा राखे । राठौरले विगत चार दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको स्मरण गराउँदै पार्टी छाडेर आन्दोलन सम्भव नरहेको बताए । “कांग्रेस कमजोर भएर लोकतन्त्र बलियो हुँदैन । रुख चिन्ह र चारतारे झण्डा छाड्न सक्दिन,“ उनले भने ।
उनको अभिव्यक्तिका क्रममा केही सहभागीले जिम्मेवार नेताहरूले नै सदस्यता अद्यावधिक नगर्ने धारणा सार्वजनिक गरिरहेको उल्लेख गर्दै प्रश्न उठाएका थिए । त्यसको जवाफमा राठौरले आफू कुनै हालतमा सदस्यता नवीकरण नगर्ने वा नयाँ पार्टी बनाउने पक्षमा नरहेको दोहो¥याए ।
सदस्यता अद्यावधिकमा मतभेद
राठौरले सदस्यता अद्यावधिक गरेर पार्टीभित्रै संघर्ष गर्नुपर्ने धारणा राखे पनि भेलाका अन्य सहभागी नेता तथा कार्यकर्ताले भने १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक आवश्यक नरहेको बताएका थिए ।
उनीहरूले विधानविपरीत सदस्यता अध्यावधिकको नाममा फरक मत राख्ने कार्यकर्तालाई पाखा लगाउने प्रयास भइरहेको आरोप लगाउँदै आवश्यक परे कारबाही भोग्न तयार भए पनि “कांग्रेसमा कसैको दास बन्न नसकिने“ बताएका थिए । साथै, पार्टीको बृहत् एकताका लागि १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको व्यवस्थापन गर्न र केन्द्रीय नेतृत्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरिएको थियो ।
लुम्बिनीमा देउवा पक्षको शक्ति प्रदर्शन
देउवा पक्षले सातै प्रदेशमा आयोजना गरेको भेलामध्ये लुम्बिनीको भेला अन्तिम थियो । प्रदेश कार्यक्रम संयोजक गेहेन्द्र गिरीले अपेक्षाभन्दा बढी सहभागिता रहेको दाबी गरे । भेलामा कांग्रेसका पूर्वमुख्यमन्त्री तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, नेता गुरु बराल, रेवतीप्रसाद भुसाल, कुन्दनराज काफ्ले, लक्ष्मी खतिवडा, लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणा, प्रमुख सचेतक जमुना ढकाल, सचेतक धनलक्ष्मी श्रेष्ठसहित प्रदेश सांसद तथा विभिन्न जिल्लाका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
भेलामा संगठन सुदृढीकरण, पार्टीभित्रको एकता तथा आगामी निर्वाचनको तयारीका विषयमा पनि छलफल भएको सहभागीहरूले बताएका छन्। साथै, प्रदेशस्तरीय भेला सम्पन्न गरेपछि अब राष्ट्रिय भेला आयोजना गर्ने तयारी रहेको जनाइएको छ ।
चौधरीको उपस्थितिले संस्थापन पक्षमा तरंग
लुम्बिनी प्रदेशका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी इतर पक्षको भेलामा सहभागी भएपछि कांग्रेस संस्थापन पक्षमा राजनीतिक तरंग पैदा भएको छ । एमालेसँगको सत्ता साझेदारीअनुसार लुम्बिनीमा अब कांग्रेस नेतृत्वमा सरकार बन्ने चर्चा भइरहेका बेला चौधरी विशेष महाधिवेशनपछि संस्थापन पक्षमा आउने अपेक्षा गरिएको थियो । तर उनी देउवा पक्षको भेलामा सहभागी भएपछि संस्थापन पक्षका नेताहरूले यसलाई अप्रत्याशित घटनाका रूपमा लिएका छन् । भेलाबाट कांग्रेसभित्र मतभेद भए पनि पार्टी फुटाउन नहुने, आन्तरिक विवादलाई संगठनभित्रै समाधान गर्नुपर्ने र आगामी महाधिवेशनलाई केन्द्रमा राखेर संगठन निर्माणमा जुट्नुपर्ने सन्देश प्रवाह गरिएको सहभागी नेताहरूले बताएका छन् ।





















