काठमाडौं, १७ असार ।
विश्व फुटबलका दुई चर्चित स्टार एर्लिङ हालान्ड र किलियन एम्बाप्पेले आफ्नो उत्कृष्ट प्रदर्शन दोहो¥याउँदै आ–आफ्ना टोलीलाई फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पु¥याएका छन् । हालान्डले अन्तिम समयमा निर्णायक गोल गर्दै नर्वेलाई जित दिलाउँदा एम्बाप्पेले दुई गोल गर्दै फ्रान्सलाई सहज जित दिलाएका हुन् ।
अमेरिकाको डलास रंगशालामा सम्पन्न खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गरेको हो । खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा आइभरी कोस्टले उत्कृष्ट पुनरागमन गर्दै ७४औँ मिनेटमा अमाद डियाल्लोमार्फत बराबरी गोल फर्काए । खेल अतिरिक्त समयतर्फ उन्मुख भइरहेका बेला ८६ औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले निर्णायक गोल गर्दै नर्वेलाई रोमाञ्चक जित दिलाए । त्यसपछि आइभरी कोस्टले बराबरीको प्रयास गरे पनि सफल हुन सकेन र नर्वे अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । अब नर्वेले उपाधिको प्रमुख दाबेदार मानिएको ब्राजिलसँग प्रि–क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । हालान्डको वर्तमान लयले ब्राजिलविरुद्धको खेललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
यता, अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रंगशालामा भएको अर्को खेलमा फ्रान्सले स्विडेनलाई ३–० ले सहज रूपमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो। फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पे नायक बने ।
एम्बाप्पेले पहिलो हाफको ४५ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि ५३ औँ मिनेटमा ब्राडली बारकोलाले अर्को गोल थपे । खेलको ७४ औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको प्रभावशाली जित सुनिश्चित गरे ।
स्विडेनले त्यसपछि खेलमा फर्कने प्रयास गरे पनि फ्रान्सको बलियो रक्षापंक्तिलाई भेद्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । यससँगै अन्तिम १६ को समीकरण थप रोमाञ्चक बनेको छ । नर्वेले ब्राजिलसँग र फ्रान्सले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछन् । हालान्ड र एम्बाप्पे दुवै उत्कृष्ट लयमा रहेकाले विश्वकपको नकआउट चरणमा यी दुई सुपरस्टारमाथि सबैको नजर रहनेछ ।




















