बुटवल, १७ असार ।
बुटवल उपमहानगरपालिका तथा आसपासका क्षेत्रमा पछिल्लो समय देखिएको अनियमित विद्युत आपूर्ति, न्यून भोल्टेज र बारम्बार हुने विद्युत अवरोधप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटीले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
कमिटीका अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा एमाले रुपन्देहीका अध्यक्ष यक्षप्रसाद गैरे, उप–सचिव बाबुराम पन्थी, नेता बाबुराम भट्टराईसहित करिब दुई दर्जन नेता तथा कार्यकर्ता मंगलबार नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र बुटवलमा पुगेका थिए । ध्यानाकर्षण पत्र बुझाउँदै उनिहरुले केही मिनेटको अन्तरालमै बारम्बार विद्युत जाने–आउने, न्यून भोल्टेज (डिम आउने) तथा भोल्टेज उतारचढावका कारण सर्वसाधारण, उद्योग–व्यवसाय, कार्यालय, अस्पताल र विद्यार्थीहरू प्रभावित भएको बताए । यस्ता समस्यबाट विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको भन्दै उपभोक्ताबाट व्यापक गुनासो आएको अध्यक्ष पोखरेलले बताए ।
एमालेले विद्युत सेवालाई अत्यावश्यक सार्वजनिक सेवाका रूपमा उल्लेख गर्दै यसको गुणस्तरीय, नियमित र विश्वसनीय आपूर्ति सुनिश्चित गर्नु नेपाल विद्युत प्राधिकरणको दायित्व भएको स्मरण गराएको छ । मर्मत, स्तरोन्नति वा अन्य प्राविधिक कारणले विद्युत आपूर्ति प्रभावित हुने अवस्थामा समयमै पूर्वसूचना जारी गरी उपभोक्तालाई जानकारी गराउनुपर्ने माग पनि गरिएको छ ।
ध्यानाकर्षण पत्रमार्फत एमालेले बुटवललगायत आसपासका क्षेत्रमा भइरहेको बारम्बारको विद्युत अवरोध तथा न्यून भोल्टेजको समस्या तत्काल समाधान गर्न, भोल्टेज उतारचढावको प्राविधिक कारण पहिचान गरी दीर्घकालीन समाधानका लागि आवश्यक पूर्वाधार विकास गर्न, मर्मत तथा स्तरोन्नतिका बेला समयमै सार्वजनिक सूचना जारी गर्न, ट्रान्सफर्मर, फिडर तथा वितरण प्रणालीको क्षमता अभिवृद्धि गर्न, उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्ने प्रभावकारी संयन्त्र सञ्चालन गर्न तथा भोल्टेज उतारचढावबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख ऋतेष गुप्ताले विद्युत आपूर्तिको समस्या बुटवलमा मात्र सीमित नभई देशव्यापी रहेको बताए । समस्या समाधानका लागि सम्बन्धित निकायमा आवश्यक जानकारी तथा छलफल भइसकेको र समाधानको प्रक्रिया अघि बढिरहेको उनले बताए ।





















