बुटवल, ३ असार ।
बुटवलका सामुदायिक कुकुरहरूको स्वास्थ्य संरक्षण तथा रेबिज नियन्त्रणका लागि दुई दिने निःशुल्क रेबिज खोप अभियान सञ्चालन गरिएको छ । सामुदायिक कुकुरहरूको स्वास्थ्य सुधार तथा मानव समुदायमा रेबिजको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यशोदा पार्वती फाउण्डेसनको आयोजनामा अल केयर नेपालले यो अभियान सञ्चालन गरेको हो ।
अभियान अन्तर्गत बुटवलका विभिन्न स्थानमा सामुदायिक तथा घरपालुवा कुकुरहरूलाई रेबिज विरुद्ध निशुल्क खोप कार्यक्रम गरिएको अध्यक्ष दिपक रिजालले बताए । सो क्रममा १२५ कुकुरहरुलाई खोप लगाउन सफल रहेको उनले बताए ।
रेबिज एक घातक तर रोकथाम गर्न सकिने रोग भएकाले कुकुरहरूलाई नियमित खोप लगाउन आवश्यक रहेको चिकित्सकहरुको भनाई छ । रेबिज लागेको लक्षण नदेखिने तर यसले दिर्घकालमा समस्या देखाएको धेरै घटनाहरु छन । रुपन्देहीमा कुकुरको टोकाईका कारण खोप लगाउने अस्पतालमा जानेहरुको संख्या बढ्दो छ । यस्तोमा आम नागरिकलाई रेबिज बारे अभिमुखिकरण समेत गरिएको उनले बताए ।
कार्यक्रममा पायनियर एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका पशु चिकित्सक डा पदम टंडन, अल केयर नेपालका सचिव प्रकृति पोखरेलले विभिन्न स्थानमा रेबिज रोग र यसबारे स्थानियहरुलाई जानकारी दिएका थिए ।





















