बुटवल, जेठ ३० ।
नेपालमा कृषि उत्पादन बढाउने नाममा रासायनिक विषादीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा यसले मानव स्वास्थ्य, कृषि प्रणाली र वातावरणमा गम्भीर असर पार्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । कृषिमा विषादीको अव्यवस्थित प्रयोग रोक्न प्रभावकारी नियमन, जनचेतना अभिवृद्धि र प्राङ्गारिक खेतीको प्रवद्र्धन अपरिहार्य बन्दै गएको उनीहरूको भनाइ छ ।
नेकपा (एमाले) रुपन्देही स्वास्थ्य तथा जनसंख्या विभागले शनिबार बुटवलमा आयोजना गरेको स्वास्थ्य तथा जनसंख्या सम्बन्धी अभिमुखीकरण कार्यक्रममा विज्ञहरुले किसान, उत्पादक, वितरक देखि उपभोक्तासम्म सबैले यस्ता विषयमा विशेष सावधानी अपनाउन जरुरी रहेकोमा जोड दिए ।
कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै कृषि विज्ञ देवेश कुमार मिश्रले उत्पादन बढाउने लोभमा भइरहेको अन्धाधुन्ध विषादी प्रयोगले दीर्घकालीन रूपमा मानव स्वास्थ्य र वातावरणमा गम्भीर संकट निम्त्याइरहेको बताए ।
उनले किसानलाई जैविक तथा घरेलु विधिमा आधारित विषादी प्रयोगतर्फ उन्मुख हुन आग्रह गर्दै आवश्यक परेमा मात्र प्राविधिकको सल्लाहअनुसार सिफारिस गरिएको विषादी प्रयोग गर्न सुझाव दिए । मिश्रले विषादीको प्रयोग, दुरुपयोग, उत्पादन बढाउने नाममा हुने अस्वभाविक विषादीको प्रयोगले मानव स्वास्थ्यमा पार्ने प्रभावका बारेमा तथ्यसहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा रुपन्देहीका इन्चार्ज तथा संघीय सांसद खिमलाल भट्टराईले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयमा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।स्वास्थ्य तथा जनसंख्या विभाग रुपन्देहीका अध्यक्ष सुनिल श्रेष्ठले विभागले सञ्चालन गर्दै आएका स्वास्थ्य सचेतना कार्यक्रमबाट नागरिक लाभान्वित भइरहेको जानकारी दिए ।
उनले विभागले स्वास्थ्य र जनसंख्याका क्षेत्रमा योजनाबद्ध कामको थालनी गरिएको बताउँदै सचेतना जगाउने र जवाफदेही निकायलाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको बताए ।त्यसै अवसरमा बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक बलवन्त कुर्मीले युवाको बढ्दो वैदेशिक पलायन, त्यसका कारण, प्रभाव र समाधानका उपायबारे प्रशिक्षण दिएका थिए ।
उनले नेपालमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि युवाहरू विदेशिने क्रम बढिरहेको उल्लेख गर्दै स्वदेशमै रोजगारी र उद्यमशीलताको वातावरण सिर्जना गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।उनले नेपालमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि युवाहरू विदेशिने क्रम बढिरहेको उल्लेख गर्दै स्वदेशमै रोजगारी र उद्यमशीलताको वातावरण सिर्जना गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।
उद्योगधन्दा सञ्चालन, कृषिमा आधारित अर्थतन्त्रको आधुनिकीकरण, युवामैत्री रोजगारी सिर्जना तथा शिक्षा प्रणालीलाई सीपमूलक र व्यावहारिक बनाउँदै उद्यमशीलतालाई प्रोत्साहन गर्न तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको कार्यक्रमका सहभागी विज्ञहरुको धारणा थियो ।
विज्ञहरूका अनुसार विषादीको प्रयोग पूर्ण रूपमा रोक्न सम्भव नभए पनि सुरक्षित प्रयोग, प्राविधिक परामर्श, प्रभावकारी अनुगमन, किसानको क्षमता विकास तथा एकीकृत शत्रुजीव व्यवस्थापन प्रवद्र्धनमार्फत यसको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ । उनीहरूले कृषि उत्पादन र जनस्वास्थ्यबीच सन्तुलन कायम गर्न राज्य, किसान, प्राविधिक र उपभोक्ता सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।


















