Spread the love

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले संघको नियमित कामकाज सञ्चालन गर्न निमित्त महासचिव नियुक्त गर्नेदेखि निर्वाचन प्रक्रिया अघि बढाउन पहल गर्ने निर्णय गरेको छ । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा शुक्रबार (कात्तिक १३ गते) बसेको कार्यसमितिको बैठकले चारवटा महत्वपूर्ण निर्णय गरेको हो ।

एन्फा विधान २०७७ को धारा ३१ (२) बमोजिम कार्यसमितिका एक तिहाइ सदस्यको आह्वानमा पदाधिकारीसहित १२ जना केन्द्रीय सदस्यको उपस्थितिमा बैठक बसेको एन्फाले जनाएको छ । बैठकले एन्फाको वर्तमान अवस्था, आर्थिक अनियमितता, खेल मिलेमतो लगायतका विषयमा राज्यका विभिन्न निकायबाट भइरहेको छानबिन र अभियोजनका कारण नेपाली फुटबल क्षेत्रमा अन्योल सिर्जना भएको निष्कर्ष निकालेको छ ।

संघलाई नियमित प्रक्रियामा ल्याई नेपाली फुटबललाई चलायमान बनाउने तथा एन्फाको संस्थागत गरिमा बलियो बनाउने उद्देश्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई सम्बन्धित विषयमा जानकारी तथा आवश्यक प्रक्रियाका लागि पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी, एन्फा सचिवालय प्रमुखसमेत अभियोजनमा परेको अवस्थामा संघको दैनिक प्रशासनिक तथा अन्य कामकाज प्रभावित हुन नदिन सहायक महासचिव दामोदर भट्टराईलाई निमित्त महासचिवको जिम्मेवारी दिने निर्णय गरिएको छ ।
एन्फा विधानको धारा ३६ (६) तथा ६६ (४) अनुसार अर्को निर्णय नभएसम्मका लागि भट्टराईलाई निमित्त महासचिवमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विश्व फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी), नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट संघलाई प्राप्त पत्राचार तथा निर्देशनका विषयमा आवश्यक समन्वय गर्न उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । समितिमा उपाध्यक्षद्वय विराजजंग शाही र दीर्घबहादुर केसी, सदस्यद्वय मनिष जोशी र टीकाराम लामा तथा निमित्त महासचिव दामोदर भट्टराई सदस्यसचिव रहनेछन् ।

यसैगरी, एन्फा निर्वाचनका सम्बन्धमा फिफा, एएफसी र नेपाल सरकारबीच भौतिक उपस्थितिमा बैठक आयोजना गर्न तत्काल पहल गर्ने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन एन्फा सचिवालयलाई निर्देशन दिने निर्णयसमेत बैठकले गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्