बुटवल,३० जेठ । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवल र समूह–३७ बुटवल महिला समूहले बालश्रम अन्त्यको सन्देश प्रवाह गर्दै बुटवलको राजमार्ग चौराहामा दीप प्रज्ज्वलन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रेपकम सदस्य कविन्द्र नेपालले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र बाल्यकालमा प्रतिकूल असर पुग्ने खालका नियमित तथा श्रमजन्य काममा बालबालिकालाई संलग्न गराउनु बालअधिकारको उल्लङ्घन भएको बताए ।
उनले प्रत्येक बालबालिकाले शिक्षा, संरक्षण र विकासको अधिकार प्राप्त गर्नुपर्ने उल्लेख गर्दै बालश्रमको अन्त्यका लागि राज्य, अभिभावक र समाज सबै जिम्मेवार हुनुपर्ने धारणा राखे ।
समूह–१२ का संयोजक खडानन्द भण्डारीले विश्व बालश्रम विरुद्ध दिवसको मुख्य उद्देश्य बालश्रम उन्मूलनका लागि आवश्यक पहल, नीति तथा कार्यान्वयनतर्फ सरकार, सरोकारवाला निकाय र आम नागरिकको ध्यानाकर्षण गराउनु रहेको बताए ।समूह–३७ बुटवल महिला समूहकी संयोजक अमृता रोकाले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै बालश्रम विरुद्धको अभियानमा सहकार्य र ऐक्यबद्धता जनाउन प्रतीकात्मक रूपमा दीप प्रज्ज्वलन गरिएको जानकारी दिइन् ।
सहभागीहरूले विद्यमान कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्दै नेपाललाई बालश्रममुक्त राष्ट्र बनाउने अभियानमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

















